काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको स्वास्थ्य अवस्था नाजुक रहेको त्यहाँका प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले पूर्वप्रधानमन्त्री आबेलाई बचाउने हरसम्भव कोसिस गरिरहेको बताएका छन् ।
चुनावी अभियानअन्तर्गत शुक्रबार बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गोली लागेपछि बहोस भएर ढलेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । प्रधानमन्त्री फुमिओ किशिदाले यो घटनालाई बर्बरतापूर्ण आक्रमण भनेर निन्दा गरेका छन् ।
पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको घटनाको अमेरिकाले पनि निन्दा गरेको छ । यो घटनालाई नजिकबाट नियालिरहेको भन्दै ह्वाइटहाउसले शिन्जो आबेको परिवार र जापानी नागरिकको साथमा रहेको जनाएको छ ।