Logo
Logo

गुणस्तर सुधार्न आमाहरुलाई पनि सक्रिय बनाउँदै पद्मोदय मावि


प्रकाश सिलवाल

2.2k
Shares

काठमाडौँ । संस्कृतमा श्लोक नै छ, ‘नास्ति विद्या समे चक्षुर्नास्ति मातृ समोगुरू’ अर्थात् संसारमा विद्याजस्तो कुनै नेत्र छैन र आमा जस्तो कोही गुरू हुँदैनन् । आमाको महत्व जीवनका कुन क्षणमा हुँदैन र ? दस महिना गर्भमा राखेर कठिन पीडाले सन्तान पैदा भएदेखि पालनपोषण गर्न, हुर्काउन र उचित शिक्षा एवं संस्कारमा अभिभावक, त्यसमा पनि आमाको अहं भूमिका हुन्छ ।

बालबालिका हुर्किएर विद्यालय जान थालेपछि उनीहरुको शैक्षिक उन्नयनका लागि अभिभावक विद्यालयप्रति विश्वस्त हुन्छन् । आमा–बाबा घर, व्यवसाय र कार्यालयका काममा व्यस्त हुनुपर्ने बाध्यता पनि छ । जाँगरिलो र पेसाप्रति प्रतिबद्ध शिक्षकले अभिभावककोे त्यो विश्वासलाई आफ्नो कर्तव्यमा रुपान्तरण पनि गरिरहेका हुन्छन् । विद्यालयको एक्लो प्रयासले विद्यार्थीको गुणस्तरीय शिक्षाको लक्ष्य पूरा हुन सक्दैन ।

शिक्षाविद् प्रा डा विनयकुमार कुसियतले आफूले पढाइमा ढिलासुस्ती गर्दा आमाले सम्झाउने गरेको र त्यसबाट प्रेरित भएको हालै एक आलेखमा व्यक्त गरेका छन् । “बाबु तिम्रो पिताजीले शिक्षा आर्जन गर्न नसकेको परिणाम मैले भोगेँ । मेरो त्यो सपना तिमीबाट पूरा होस् भन्ने चाहान्छु ।” आमाका ती भनाइलाई डा. कुसियतले सम्झनुमात्र भएको छैन, नयाँ पुस्ताका लागि प्रेरणा मिलोस् भनेर सार्वजनिक गरेका छन् ।

शैक्षिक गुणस्तर सुधारमा आमाहरुको त्यही भूमिकालाई विद्यालयले अनुभूत गर्ने गरी प्रयोग गराउन पहल हुन थालेको छ । काठमाडौँको मुटु पद्मोदयमोडस्थित पद्मोदय माध्यमिक विद्यालयले विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीका आमाहरुलाई बोलाएर आजदेखि बालबालिकाको शिक्षाबारे विमर्श सुरु गरेको छ । विद्यालय र घरमा बालबालिका कसरी पढिरहेका छन् ? त्यसबारे अभिभावकसँग सामुदायिक विद्यालयमा कमै मात्रामा दोहोरो संवाद हुने अवस्थामा उक्त विद्यालयको निमन्त्रणालाई आमाहरुले सहर्ष स्वीकारेर शिक्षा सुधारको यात्रामा सामेल हुने सङ्कल्प गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्