Logo
Logo

विनोद शाही मृत्यु प्रकरण : ४ जना पुर्पक्षका लागि कारागार चलान


1.8k
Shares

काठमाडौँ । अछामकका १६ वर्षीय विनोद शाही मृत्यु प्रकरणमा आरोपी चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका-४ का शाहीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत अछामका श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।

श्रेस्तदार पौडेलका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको छ भने अन्य फरार रहेकाहरूको खोजी गरेर पेस गर्न प्रहरीलाई आदेश गरिएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा काँग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले काँग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

आफुहरुमाथी कुटपिट भएको भन्दै काँग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको थिए ।

शाही जेठ २१ गते घर नजिकैको जङ्गलमा मृत भेटिएका थिए । शाहीको हत्या गरेको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहितका तीन जना आरोपित विरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनीहरू प्रहरी कार्यालयबाटै छुटिसकेका छन् ।

तर सरकारी वकिल कौशल ढुङ्गानाले अन्य १० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेका थिए । हत्या आरोपी जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाहीसहितका अन्य ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्