कोलम्बा । श्रीलङ्काको पश्चिमी प्रान्तका विभिन्न ठाउँमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीहरूले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै विरोध प्रदर्शन हुन लागेको हो । स्थानीय समय अनुसार शुक्रबार राती अर्को सूचना जारी नगरेसम्म कर्फ्यू आदेश कायमै रहने प्रशासनले जनाएको छ ।
प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश लागू भएका क्षेत्रमा हिड्नु परेमा प्रहरी तथा सरकारी अधिकारीहरूको अनुमतिमा मात्रै हिड्न पाइने व्यवस्था गरिएको छ । अत्यावश्यक परेमा हिड्न पाइने पनि अधिकारीहरूले जनाएका छन् ।
श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनु परेको थियो ।