Logo
Logo

अवैध सुपारी बरामद


1.9k
Shares

बनियानी । झापाको मेचीनगर नगरपालिका–५ स्थित तिरिङ–काँकडभिट्टा सडकखण्डबाट आज प्रहरीले अवैध सुपारीसहित सवारीसाधन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकडभिट्टातर्फ आउँदै गरेको मे१च ४९८० नंको पिकअप गाडी जाँच गर्दा करिब रु दुई लाख ८८ हजार ४०० मूल्य बराबरको सात क्विन्टल सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

बरामद सुपारी, सवारीसाधन र चालक ४८ वर्षीय दानबहादुर पोखरेललाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सुनको सिक्री थुन्ते पक्राउ

यसैबीच झापाको मेचीनगर नगरपालिका–१० धुलाबारी बजारमा घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर–९ का २० वर्षीय नीरज राय रहेका छन् ।

रायले शुक्रबार बेलुका किनमेल गरिरहेकी धुलाबारी नगरपालिका–९ की ५० वर्षीया गीता अधिकारीले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्रीसहित रायलाई पक्राउ गरेको थियो ।

लागुऔषधसहित तीन जना पक्राउ

झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मेचीनगर–६ मचीपुलबाट ब्राउनसुगरसहित मेचीनगर–७ नयाँ बसपार्ककी २२ वर्षीया रोजिना आले खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार राति लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेकी खड्कालाई दुई ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ परेकी खड्काको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै मेचीनगर–१ ज्योतिटोलका ४४ वर्षीय पदमबहादुर दर्जी र २३ वर्षीय चरण लामिछानेलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको छ । शुक्रबार राति तिरिङखोला प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले दर्जीको घरबाट लागुऔषध गाँजा तीन किलोग्राम र गाँजा कारोबार गर्न आएका लामिछानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्