Logo
Logo

याक्खा छुम्माको छैटौं केन्द्रीय महाधिवशेन फागुनमा


378
Shares

काठमाडौं । किरात याक्खा छुम्माको छैटौं केन्द्रीय महाधिवशेन आगामी फागुन २४, २५ र २६ गते सुनसरीको धरानमा हुने भएको छ ।

शनिबार धरानस्थित याक्खा केन्द्रीय भवनमा सम्पन्न छुम्माको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो ।

बैठकले पालिकास्तरको अधिवेशन मंसिर मसान्तभित्रमा सक्ने, पुष मसान्तसम्ममा जिल्ला अधिवेशन सम्पन्न गर्ने र माघ मसान्तसम्ममा प्रदेश समिति चयन गरिसक्ने निर्णय गरेको सचिव भरत याक्खाले जानकारी दिए ।

छुम्माले पालिका र जिल्ला अधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि शुल्कसमेत निर्धारण गरेको छ ।

पालिका र जिल्ला अधिवेशन प्रतिनिधिलाई १ हजार, प्रदेश अधिवेशन प्रतिनिधि २ हजार र महाधिवेशन प्रतिनिधिलाई ३ हजार शुल्क लिने बैठकले निर्णय गरेको हो ।

महाधिवेशन सम्पन्न गर्न छुम्माको केन्द्रीय समिति बैठकले आर्थिक समिति, विधान समिति र व्यवस्थापन समिति गठन गरेको सचिव याक्खाले जानकारी दिए ।

अध्यक्ष लीलबहादुर रोगुको संयोजकत्वमा गठित आर्थिक समिति सदस्यहरुमा उपाध्यक्ष लहरु जिमी र सदस्य डम्बर रोगु छन् । त्यस्तै विधान समिति संयोजकमा संविधान सभा सदस्य दुर्गा लिंखा र सदस्यहरु क्रमशः उपमहासचिव सोनाम याक्खा, सचिव भरतकुमार याक्खा, सदस्यहरु डम्बर रोगु र धनकुमारी जिमी छन् ।

महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा उपाध्यक्ष लहरु जिमीलाई संयोजक तोकिएको छ भने सदस्यहरुमा केन्द्रीय सदस्य अनुप देवान, छुम्माको सुनसरी जिल्ला समिति र धरान उपमहानगर समितिलाई जिम्मेवारी तोकेको हो ।

२०५१ सालमा याक्खा समुदायलाई संगठित गर्ने उद्देश्यले किरात याक्खा छुम्माको गठन गरिएको थियो । २८ वर्षे संस्थागत अभ्यासमा छुम्माले यसअघि पाँच वटा महाधिवेशन सम्पन्न गरिसकेको छ । छुम्माको विधान अनुसार प्रत्येक ५ वर्षमा महाधिवेशन गर्नुपर्दछ ।

प्रकृतिपूजक याक्खा जाति नेपालको अल्पसंख्यक जाति हो । आदिवासी जनजाति समुदायको सुविधा वञ्चित समूहमा पर्ने याक्खा समुदाय नेपालका चार किराती समुदायमध्येको एक हो ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार याक्खा जातिको जनसंख्या २६ हजार तीन सय ७५ रहेको थियो । राष्ट्रिय जनगणना २०७८ को पूर्ण तथ्यांक आइनसकेको हुनाले याक्खा जातिको पछिल्लो १० वर्षको यकिन तथ्यांक थाहा हुन सकेको छैन ।

संखुवासभा र धनकुटा जिल्लामा पर्ने साविक लिम्बुवानको दश मझिया, पाँच मझिया र पाँच खपन थुम याक्खा जातिको उद्गम थलोका रूपमा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्