शम्भु श्रेष्ठ
साउन ६ र ७ गते देशैभरि नेपाली कांग्रेसले विपी र नेपाल कम्युनिष्ट पार्टीले पुष्पलाललाई सम्झन्छन् यस्तो कर्मकाण्डी सुरु भएको पनि झण्डै चार दशक बितिसकेको छ । यो चार दशकमा नेपालको राजनीतिले ठूलो फड्को मारेको छ । कम्युनिष्ट, कांग्रेस मिलेर लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छन् । राजनीतिक व्यवस्था परिवर्तन भएर मात्र पनि जनताको जनजीवन सुदृढ हुँदोरहेनछ । त्यसका लागि देश हाँक्ने नेताहरु देश र जनताप्रति इमान्दार हुनु पर्दोरहेछ ।
विपी यस्ता महान् थिए, पुष्पलालको यस्तो आदर्श थियो भनेर मात्र पुग्दैन, उनीहरुको जीवनशैलीबाट पनि केही सिक्नुपर्छ । सिद्धान्त, विचारको रटान लगाएर मात्र पनि कोही ठूलो नेता हुँदैनन् । त्यो सिद्धान्त र विचारलाई नेता, कार्यकर्ताहरुले आफ्नो जीवनशैलीमा ढाल्न सक्नुपर्छ । विपी, पुष्पलालहरुको जीवन पढ्दा उनीहरुले आफ्नो जीवनमा धेरै कुरा त्याग गरेका छन् । कष्टकर जीवन बिताएका छन् । त्यो केका लागि थियो त भन्दा देश र जनताका लागि भन्ने कुरा आजको राजनीतिक परिवर्तनबाट पनि हामीले अनुभूति गर्न सक्छौँ । विपीले नेपाली कांग्रेसको स्थापना गरेर जीवनभर प्रजातन्त्रका लागि लडे । पुष्पलालले पनि प्रजातन्त्रकै लागि जीवन समर्पण गरे । पक्कै पनि राणा शासनका बेला यी दुई नेताले पार्टी स्थापना गर्नु चानचुने कुरा थिएन । यी दुईवटै पार्टी स्थापना भएपछि मात्रै नेपालबाट १०४ वर्षे राणा शासनको अन्त्य भयो । यी दुई पार्टी मिलेपछि मात्रै प्रजातन्त्र पुनःस्थापनाको ढोका खुल्यो । यी दुई पार्टी मिलेरै गणतन्त्र स्थापना भयो । यी दुई पार्टीको सिद्धान्त, विचार अलग–अलग भए पनि उद्देश्य प्रजातन्त्रको माध्यमबाट नेपाललाई समाजवादमा पु¥याउनु नै थियो । जुन कुरा नेपालको संविधानमै उल्लेख गरिएको छ । ०१७ सालमा राजा महेन्द्रले ‘कू’ नगरेको भए विपीजस्ता दूरदर्शी नेताले समाजवादको आधार त्यतिबेलै तयार पारिसक्थे । देश, आजको जस्तो रोग, भोक र शोकले व्याप्त हुने थिएन । किनभने, विपी दूरदर्शी नेता हुन् भन्ने कुरा उनको इतिहासले प्रमाणित गर्छ । तर दुर्भाग्य, विपीको पार्टी नेपाली कांग्रेस आज टिठलाग्दो अवस्थामा छ । यसको नेतृत्वको तुलना विपीको पैतालासँग पनि गर्नु भनेको विपीको अपमान गर्नु हो । विपीले त्यति दुःख गरेर जन्माएको पार्टी यो अवस्थामा पुग्नुको पछाडि नेतृत्व नै जिम्मेवार छ । पद, प्रतिष्ठा र पैसा नेताको आदर्श बनेको छ । बालुवाटारको जग्गा प्रकरणदेखि सुन काण्डसम्म यिनको नाम जोडिन थालेको छ । पार्टी र व्यक्ति भन्ने कुरा सिद्धान्त, विचार र नीतिले चल्ने हो । जब यी सबै कुरा एउटा व्यक्तिले चलाउन खोज्छन्, तब पार्टी धराशायी बन्दै जान्छ । जनताको विश्वास गुम्दै जान्छ । परिणाम विपीले ०१५ सालमा दुईतिहाइ ल्याएको पार्टी आज सदनमा खोज्नुपर्ने अवस्थामा पुगेको छ ।
जहाँसम्म पुष्पलालको कुरा छ, उनी कहिले पनि सत्तामा पुगेनन् । बरु उनले देखेको सपनामा आज मुलुक प्रवेश गरेको छ । दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको छ । जनताले कम्युनिष्ट पार्टीलाई दुईतिहाइको मत दिएका छन् । पाँच वर्षसम्म ढुक्का साथ सत्ता सञ्चालनको जिम्मेवारीमा आज कम्युनिष्ट नेताहरु छन् । यो बेला भनेको कम्युनिष्टको अग्निपरीक्षाको पनि बेला हो । तर, यी कम्युनिष्ट नेताहरुले पनि वर्षको एक दिन पुष्पलालको फोटोमा माल्र्यापण गर्नेबाहेक आफूलाई पुष्पलालको आदर्शमा ढाल्न सकेका छैनन् । कांग्रृुेस र कम्युनिष्ट नेताहरुको चरित्र हेर्ने हो भने एउटै सिक्काका दुईवटा पाटा हुन् कि जस्तो देखिन थालेका छन् । पद, प्रतिष्ठा र पैसा कम्युनिष्ट नेताको पनि आदर्श बनेको छ । पैसा नहुने, पहुँच नहुने कार्यकर्ताको पार्टीभित्र मूल्यांकन हुन छाडेको छ । चुनाव जित्ने, मन्त्री हुने, राजदूत हुने, सरकारी नियुक्ति पाउने व्यक्ति तिनै हुन्छन्, जोसँग पैसा र पहुँच छ । यस्तो चरित्र र व्यवहारले कम्युनिष्ट आन्दोलन सफल हुन सक्दैन । यो चरित्र र व्यवहारलाई सच्याउँदै देश र जनताको पक्षमा दृढतापूर्वक उभिने जनता नै सच्चा कम्युनिष्ट हुन्, अर्थात् तिनीहरु नै पुष्पलालका अनुयायी हुन् ।
यो कुरालाई कांग्रेस र कम्युनिष्टका नेता, कार्यकर्ताले मनन गर्न सके भने यही संविधानले देशलाई समाजवादमा पु¥याउँछ । होइन भने, कांग्रेस कम्युनिष्टका नेता समाजवादमा पुग्ने, जनता तहीको तही रहने स्थिति उत्पन्न हुनेछ । त्यो स्थिति भनेको प्रतिक्रान्तिको स्थिति हो । त्यसले देशकै अस्तित्व समाप्त पार्न सक्छ ।