Logo
Logo

अपराधिक लाभको अपराधमा पक्राउ परे भेटवाल, छुटाउन उच्च प्रहरी नै सक्रिय ?


165.5k
Shares


काठमाडौं । जुवा लगायत अवैध गतिविधिमा सक्रिय सुभाष भेटवाल पक्राउ परेका छन् । अपराधिक लाभ मुद्दामा पक्राउ परेका उनलाई छुटाउन उच्च प्रहरी अधिकारी नै सक्रिय भएको काठमाडौं प्रहरी स्रोतले बताएको छ ।
सिन्धुलीका राजकुमार बरालको उजुरीका आधारमा उनी बिहीबार पक्राउ परेका हुन् । शुक्रबार अदालतले पाँच दिन थुनामा राख्न म्याद दिएको छ ।


गत २२ असोजमा आफ्नो हस्ताक्षर गरेको चेक चोरेर पैसा भरी पैसा दाबी गरेको अभियोग उनीमाथि छ । बानेश्वरको आफ्नो अफिसमा बोलाएर भेटवालले चेक लुकाएको उजुरी छ । बरालले भोलिपल्टै आफ्नो चेक चोरी भएको भन्दै बैंकलाई जानकारी गराएका थिए भने प्रहरीमा समेत उजुरी दिएका थिए । तर, भेटवालले काठमाडौं प्रहरीका तत्कालिन एसएसपी अशोक सिंहलाई प्रभावमा पारेर उल्टो पीडितलाई दुःख दिएका थिए । यस विषयमा संसदको राज्य व्यवस्था समिति र प्रहरी प्रधान कार्यालयले छानबिन गरी दोषी प्रहरीलाई कारबाहीको सिफारिस गरेको थियो । प्रहरी प्रधान कार्यालयले तत्कालिन डिआइजी राजेशलाल कर्णको नेतृत्वमा छानबिन समिति गठन ग¥यो । सो समितिले गैरव्यवसायिक गतिविधि गरेको भन्दै कारबाही सिफारिस गरेको थियो ।

भेटवालले खाली चेकमा दुई करोड २९ लाख रुपैयाँ भरेका थिए, प्रहरीले पैसा असुलिदिए आधा पैसा प्रहरीलाई दिने सहमति गरेको समेत प्रहरी प्रधान कार्यालयको छानबिनमा देखिएको थियो । त्यती धेरै रकम के–को कारोबार हो भनेर समेत छानबिन गरिएको थिएन ।


पछि प्रहरीले अनुसन्धान गर्दा भेटवालले सो रकमको स्रोत खोल्न नसकेपछि अपराधिक लाभ लिन खोजेको पुष्टि भएको थियो । सोही आधारमा जिल्ला अदाललते पक्राउ पूर्जी जारी गरेको थियो । तर, महिनौंसम्म भेटवाल प्रहरीलाई प्रभावमा पारेर जोगिन सफल भएका थिए । अहिले पक्राउ परपछि पनि उनले विभिन्न व्यक्तिहरुलाई भनेर सहजै छुट्ने प्रयासमा लागेका छन् । अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार मुद्दा कमजोर बनाउन भन्दै उच्च प्रहरी अधिकारीले दबाब दिइरहेका छन् । ‘यस्ता व्यक्तिलाई जोगाउन हाकिमसाबहरु लागेको देखेर अचम्म लागेको छ,’ ती प्रहरी अधिकारीले भने । भेटवाल नामुद जुवाडे र मिटरब्याजी भएको सूचना प्रहरीले पाएको छ ।


त्यतीबेला एसएसपी सिंहले बिचौलिया ओम श्रेष्ठलाई चेक फिर्ता दिएका थिए । श्रेष्ठलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । उनी सशस्त्र प्रहरीका पूर्व सई हुन् । उनले अवैध धन्दाबाट अकुत सम्पत्ति कमाएका छन् । भेटवाल र श्रेष्ठको सम्पत्ति समेत छानबिनका लागि प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्