Logo
Logo

ज्वाइँका कारण सशस्त्रमा हंगामा


4.3k
Shares

काठमाडौं । जब सिंगो सगठन भन्दा एक जना व्यक्ति माथि हुन्छन्, त्यो संगठन कस्तो होला ? सशस्त्र प्रहरी बल यस्तै भद्रगोल अवस्थामा पुगेको छ ।

सशस्त्रमा एक व्यक्तिका लागि सिष्टम बिगार्ने मात्र होइन, पटक–पटक ऐन, कानून नै संशोधन हुन थालेको छ । आफ्नो लागि राज्यसत्ताको दुरुपयोग गर्ने अधिकृत हुन्, कामु एसएसपी दीपेन्द्र कुँवर । यतिबेला पनि उनकै लागि सरकारले सशस्त्र प्रहरी नियमावली संशोधन गरेको छ ।

यसअघि एसपीबाट एसएसपीमा बढुवा हुन न्यूनतम चार वर्ष पदावधि पुगेको हुनुपर्ने प्रावधान थियो । तर, कुँवरकै जोडबलमा तीन वर्षमा झारिएको छ । एसएसपी मात्र होइन लगत्तै डिआइजी हुने योजनाअनुसार यसरी संगठनमा सिष्टम नै भत्काइएको छ ।

यसअघि उनलाई कामु एसएसपी बनाउन लागि पनि अन्य दर्जनौं अधिकृतमाथि अन्याय भएको थियो । गत वर्ष एसएसपीका २५ पद रिक्त थिए । त्यसमा १५ जना सि.स १ का अधिकृत थिए । उनीहरुलाई कामु एसएसपीको जिम्मेवारी दिइयो । सि.स २ बाट १० जना पर्ने भए, तर कुँवर ११ औं नम्बरमा थिए, उनी छुट्ने भएपछि १० जनाको बढुवा करिब एक वर्ष रोकियो । किनकि, कामु दिँदा बरियताअनुसार मात्र दिनुपर्छ । एसएसपीको अर्काे एक पद रिक्त भएपछि मात्र कामु दिइएको थियो । उनै कुँवर अहिले अघिल्लो ब्याचलाई समेत टपेर डिआइजी बढुवा हुने दाउमा छन् ।

स्रोतका अनुसार उनी प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनीज्वाई हुन् । आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न उनले बालुवाटारको शक्ति दुरुपयोग गरी सिंगो संगठनको सिष्टम नै भत्काउने प्रयास गरिरहेका छन् । यसमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल समेत निरीह बनेको संगठनभित्र टिप्पणी हुन थालेको छ ।

स्टाफ कलेजको प्रवेश परीक्षा नै अनुत्तिर्ण हुनुले उनी क्षमताका दृष्टिकोणले कति कमजोर छन् भन्ने प्रष्ट हुन्छ । त्यसरी स्टाफ कलेज फेल भएपछि बिशेष निर्णय गरेर उनलाई नेपाली सेनाको स्टाफ कलेजमा पठाइएको थियो । सशस्त्र प्रहरीमा स्टाफ कलेज नगर्नेहरु एसएसपीबाट बढुवा हुन पाउँदैनन् ।

तर, उनको लागि संगठनको यो नियम लागू भएन । एक व्यक्तिका लागि संगठनमात्र पटक–पटक गरिएका यस्ता निर्णय देखेर सशस्त्र प्रहरीका अधिकृतहरु समेत चकित बनेका छन् । बालुवाटारको हस्तक्षेप संगठन नै अस्तव्यस्त हुने अवस्थामा पुगेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्