काठमाडाैं । पानी रंग विहीन कुनै स्वाद नभएको प्राकृतिक र सुलव बस्तु हो । मानव शरीरलाई खाना जस्तै पानी पनि आवश्यक छ ।
पानी पिउन सामान्य दैनिकी भएतापनि शरीरलाई स्वस्थ राख्न पानी पिउने समय र तरिकाबारे थाहा पाउनु जरुरी छ । शरीरमा आवश्यक पानी भएन भने विभिन्न रोगको जोखिम बढ्न सक्छ । हामीले खाएको पोषक तत्व रगतमा पुर्याउन र शरीरको विकार तत्व बाहिर निकाल्न पानीको भुमिका रहन्छ । शरीरको ७६ प्रतिशत भाग पानीले बनेको हुन्छ ।
पानीमा तरलता, स्वच्छता, हलुकापन, शीतलपनजस्ता गुणहरू हुन्छन् । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असर देखा पर्न सक्छन् ।
शरीरमा पानीको उचित मात्रा कति ?
शरीरमा पानीको मात्रा फोक्सो ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ ।
प्रत्येक मानिसलाई साधारणतया दैनिकरूपमा तीन देखि चार लिटर वा १०र१२ गिलास पानी आवश्यक पर्छ । यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था आदिमा भर पर्छ । यो कुरा व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ ।
धेरै पानी पिए पनि खतरा हुन सक्छ । कम पानी पिए फोहोरलाई बाहिर निष्कासन गर्न गाह्रो पर्छ । जसको पेट सफा हुन्छ, उसलाई रोग लाग्ने सम्भावना कम हुन्छ ।
ठिक तरिकाबाट पानी पिउनाले बिषाक्त तत्व पनि बाहिर निष्काशन गर्न सक्छ । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ । सधैँ केही समयको अन्तर राखी पानी पिउने गर्नुपर्छ । जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ । पानीसँगै झोल पदार्थ भएका खानेकुरा पनि प्रयोग गर्नुपर्छ ।
उचित तरिकाले पानी पिउँदा हुने फाइदा
पानी शरीरमा सिंचिंत भइ बल, आय, आरोग्यता र पौष्टिकता प्रदान गर्छ । यसलाई आयुप्रदाता, प्राण र रसायन मानिएको छ । पेट सफा गर्न पानीको महत्वपूर्ण भूमिका रहन्छ । पटक–पटक गरी दिनभर पिएको पानीले क्यान्सरका सेललाई समेत बाहिर निकाल्छ । पानिको उचित प्रयोगले धेरै विकार नष्ट हुन्छन् । दिसापिसाब, पसिना, थुकलगायत माध्यमबाट शरीरको पानी बाहिरिन्छ । शरीरमा पानीको कमी भयो भने विभिन्न रोग लाग्न सक्ने चिकित्सक बताउँछन् ।
बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गान खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । स्वस्थ छालाका लागि पनि शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ । स्वच्छ पिउने पानी ठिक ढङ्गले सेवन गरे र दैनिक कम्तिमा तीन लिटर पानी पिए क्यान्सरलगायत रोगबाट छुटकारा पाइन्छ ।
पानी कम हुँदा देखिने समस्या
पानी कम हुँदा छालामा असर पर्छ । छालामा सुक्खापन आउने, चाउरी पर्नेजस्ता समस्या देखा पर्न सक्छन् । यति मात्रै होइन, शरीरमा एलर्जी हुन सक्छ । रगतको मात्रामा कमी, कमजोर पाचनतन्त्र, शरीरको तापक्रम बढ्ने, महत्वपूर्ण संवेदनशील अङ्गमा असर पर्ने आदि समस्या हुन्छ ।
१. लामो समय पानी नपिउँदा कहिलेकाहीँ मानिस बेहोस हुन सक्छ । ठीक समयमा पानी पिउन सकिएन भने ज्यानसमेत जान सक्छ ।
२. पानीको मात्रा भएन भने बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा पर्ने हुन्छ ।
३. पानीको कमी हुँदा किड्नीमा समस्या, पिसाबको संक्रमण हुन्छ । पानी एकैपटक धेरै खाँदा किड्नीमा ओभरलोड हुन्छ र समस्या उत्पन्न हुन्छ ।
४. शरीरमा पर्याप्त मात्रामा पानी पुगेन भने कब्जियतको समस्या हुन्छ ।
५. हामीले पिउने पानीको मात्राअनुसार शरीरको तापक्रम बढ्ने÷घट्ने हुन्छ । पर्याप्त पानी पुग्यो भने तापक्रम बढ्छ, पानी कम भयो भने तापक्रम घट्छ ।
६. शरीरमा पानीको कमी भयो भने पेटको अल्सर हुन्छ ।
७. हामीले पिउने पानीको मात्राअनुसार रक्तचाप बढ्ने र घट्ने हुन्छ । शरीरमा पानीको अभाव हुँदा रक्तचापको मात्रा घट्ने चिकित्सक बताउँछन् ।
८. शरीरमा पानीको अभाव भयो भने मुटुको चाल असामान्य बनाउन सक्छ ।
९. पानीको अभावले हाम्रो शरीरमा पाचन प्रक्रिया असहज बनाउँछ । हामीले खाएको खानेकुरालाई पानीले नै आन्द्रासम्म पुर्याउँछ । र, पाचन प्रणालीलाई सफा बनाउन पनि महत्वपूर्ण काम गरेको हुन्छ ।
पानी कसरी पिउने ?
उषापान (खाली पेटमा स्पानी पिउने) वा अमृतपान जसमा उषाको अर्थ बिहान र पानको अर्थ सेवन गर्नु भन्ने हुन्छ । अर्थात् बिहानै मुख कुल्ला नगरी पिउनु भन्ने हुन्छ । हाम्रो आमाशयको क्षमता ६०० मिलीलिटर हुन्छ । आमाशयको क्षमता डबल बनाउँदा सवा १ लिटर हुन्छ अर्थात बिहान ३–४ गिलास पानी (बच्चाले दुई गिलास) मनतातो वा चिसो पिउनुलाई उषापान भनिन्छ । बिहान उठ्नेबित्तिकै खाली पेटमा मुख कुल्ला नगरी मुखमा भएको र्यालसहित निल्ने गरी पानी पिउने गर्नुपर्छ, यसले मानिसलाई बल, स्वास्थ्य, आरोज्ञ, शीतलता प्रदान गर्छ । पचेको मल र मृत तन्तुलाई समेत बाहिर पठाइदिन्छ ।
उषापान स्वस्थ्य जीवनको प्रमुख आधार हो, जसले शरीरका प्रायः सम्पूर्ण रोग निर्मुल पार्ने काम गर्छ । रगतको गाढापन कम गरी हृदयघातलाई न्यून गर्छ । यसले आमाशय तथा आन्द्राको भित्तामा रहने म्युकस तथा डेडसेल समेत बाहिर निकाल्छ ।
उषापानमा व्यक्तिले आफ्नो प्रकृतिअनुसार मनतातो या चिसो पानी सेवन गर्न सक्छ । आर्थराइटिस समस्या, घुँडा दुखेको, शरीर मोटो छ भने मनतातो पानीमा गौमूत्र दुई बिर्को मिसाई पिउँदा लाभ हुन्छ । तर, अमिलो पानी आउने समस्या भएकाले तातो पानी पिउनु हुँदैन । बेलुका खाना खाएर सुतेपछि रातभर खानाको पाचन हुन्छ । त्यसैबाट हामी शक्ति पाउँछौं ।
त्यस्तै पच्न नसकेका बाँकी पदार्थ हाम्रो ठूलो आन्द्रामा गएर जम्मा भएको हुन्छ । त्यसलाई सही समयमा निष्काशन गर्न सकेनौं भने हामीलाई कब्जियत हुन्छ । भनिन्छ, कब्जियत सबै रोगको जननी हो । कब्जियत रोगकै कारणबाट अरू रोग सुरूवात हुन्छ । यदि हामीले ओछ्यानमै चियाको बदला पेटभरि पानी पियौं भने कब्जियत लाग्न पाउँदैन र त्यसको कारणबाट लाग्ने अरू रोगहरू स्वतः हराएर जान्छ ।
चिसो पानीमा मह मिसाएर पियो भने पिसाब पोल्ने समस्या बन्द हुन्छ । तातो पानीमा मह मिसाएर पियो भने शरीर गर्मी हुन्छ ।
उषापानमा अपनाउनुपर्ने सावधानी
१ जसको हात र पाउ सुनिन्छ ।
२ जसको दाँतबाट पानी आउँछ तथा चक्कर लाग्ने समस्या छ ।
३ जसको मृगौला स्वस्थ छैन । दमको समस्या र नसाको समस्या हुने ।
४ गर्भवती महिलाले बिहान सबेरै १।२५ लिटरकोे सट्टा ५०० मिली मात्र पिउने ।
५ मोटो व्यक्तिले मनतातो पानी मात्र पिउने । अम्ल पित्तको समस्या हुनेले चिसो पानी मात्र पिउने ।
पानी पिउने सही तरिका
खानापछि करिव १ घन्टासम्म पानी पिउनु हुँदैन । किनभने खाना खानासाथ जठाराग्नी सक्रिय भई भोजन पचाउने कार्यमा लाग्छ । यो कार्य करिब ९० मिनेटसम्म जारी रहन्छ । यदि पानी पिएमा पाचन क्रियामा बाधा पर्नेदेखि हृदयघातसम्म हुनसक्छ । तर, थोरै एक/दुई घुँट भने अप्ठेरो अवस्थामा पिउन सकिन्छ ।
पानी पिउँदा बिस्तारै थोरै ¥याल मिसाई ठोस कुरा खाएको जस्तो गरी घुटघुट खानु (पिउनु) पर्छ । किनभने थोरै पानी पिउने गर्दा मुखको र्याल पेटमा जान सक्छ । त्यो र्यालले गर्दा हानिकारक फंंगस तथा ब्याक्टेरियालाई मारी विभिन्न रोगबाट बचाउन सक्छ ।रक्तचाप समस्या हुनेले नुहाउनुभन्दा आधा घण्टा अगाडि १५० मिली वा २ गिलास पानी पिउने । सुत्नुभन्दा आधा घण्टाअगाडि १५० मिली पानी पिउनाले मुटु रोग तथा पक्षघात हुन पाउँदैन । धेरै चिसो पानी पिउनु हुँदैन । किनभने यसले हाम्रो पेटको अग्नि तत्व अर्थात पाचनतन्त्रलाई कमजोर बनाई दिन्छ ।
पानी हर हमेशा बसेर पिउनु पर्छ । उठेर पानी पिउँदा वृद्धावस्थामा घुँडा दुख्ने समस्या हुनसक्छ । मुहारमा उदासीपन छाउन सक्छ । भोजनको बीचमा अति आवश्यक परेमा मात्रै थोरै मात्रामा पानी पिउन सकिन्छ । भोजनको एक घण्टाअघि र पछि मात्र पानी पिउनु पर्छ । भोजनको समयमा बढी पानी पिउनाले पाचन क्रियामा नराम्रो असर पर्छ ।
एक चोटी उमालेको पानी सेलाइसकेपछि दोबारा उमाल्नु वा तातो गर्नु हुँदैन । यसो गरे पानी बिष समान हुन्छ ।
बढी खाई अजीर्ण भएको बेला घण्टाघण्टामा एक–एक गिलास पानी पिउनु अमृततुल्य हुन्छ । जीर्ण अर्थात् भोक नलाग्ने समस्यामा पानी पिउनु बलप्रदायक हुन्छ । खाना खाँदा बीचमा एक–दुई घुटको पानीले भेषज अर्थात् औषधिको काम गर्छ । तर, खानाको अन्त्यमा पानी पिउने हो भने त्यो बिष बनेर नानाथरी रोग उत्पन्न गर्छ । साथै, बिहान जागरणपछि उषाकालमा पिएको दुई गिलास मनतातो पानीले असंख्य रोगको हरण गर्छ । साथै, पानी खाने, पिउने मन्त्रलाई बिर्सनु हुँदैन ।
नुहाइसकेपछिको एक गिलास पानीले रक्तचाप घटाउन निकै सहायता गर्छ । खानाभन्दा एक घण्टाअगाडि पिएको एक गिलास पानीले पाचनप्रक्रिया र पाचन प्रणालीलाई चुस्तदुरूस्त राख्छ ।
सुत्नुभन्दा एकाध घण्टाअघिको एक गिलास पानीको सेवनले रातको समयमा हुनसक्ने हृदयाघातको खतरालाई घटाउँछ ।
पानी पिउन नहुने अवस्था
गर्मीयाममा सामान्य घुमफिर गर्दा योग प्राणायाम वा व्यायाम गर्दा, शारीरिक परिश्रम गर्दा तुरून्तै खाना वा खाजा खाने बेलामा, खाना वा खाजा खानेबित्तिकै तत्कालै पानी पिउनु हुँदैन ।
पाकेको आप, केरा, तरबुजा, मेवा, काक्रो आदि फल खानेबित्तिकै, अमिलो चिल्लो पदार्थ, चिया, दूध पिउनसाथ, हाच्छ्यु गर्नासाथ दिसापिसाव तथा सहवास गर्नसाथ र उभिएर पानी पिउँदा स्वास्थ्यमा हानी पुग्छ । अति नै थाकेको बेला साथै श्रम, व्यायाम, दौड या मैथुन कार्य गर्नेबित्तिकै र अति नै भोक लागेका बेला पानी पिउनु हुँदैन ।
शरीर असजिलो अवस्था या आसनमा छ भने साथै सुतेको अवस्था तथा खाना खानुअगाडि र पछाडि अति तातो चिज खानेबित्तिकै पानी पिउन वर्जित छ । पानी पिएलगत्तै सुत्नु पनि हितकर मानिँदैन ।
फलफूल, सुर्ती चुरोटको धुवाँ तथा खैनी, गुट्खा (सुपारी)सँगै पानी पिउनु हरदृष्ट्रिले रोगकारक हुन्छ ।
मात्रा घटाएर पानी पिउनुपर्ने अवस्था
शरद (असोज–कात्तिक) र गृष्म (जेष्ठ–असार)मा सामान्यभन्दा बढी र अरू मौसममा स्वस्थ व्यक्तिले समेत पानीको मात्रा घटाएर पिउनु राम्रो हुने आयूर्वेदमा उल्लेख छ । दिनभरीमा करीव अढाईदेखि चार लिटरसम्म अवस्थानुसार पानी पिउनु पर्छ । अरूचि, रूघा, नाकबाट पानी या सिँगान धेरै बग्ने, शरीर सुन्निने, क्षयरोग, मन्दाग्नि, उदर (पेटसम्बन्धी रोग), कुष्ठ रोग, ज्वरो, आँखाको रोग, घाउखटिरा आदिमा पानीको मात्रा घटाएर पिउनु स्वास्थ्यअनुकूल मानिन्छ ।
मौकामा पानी पिइयो भने बिहान खाली पेटमा पिएको २ गिलास पानीले सबै आन्तरिक अङ्गको क्षमतालाई दोब्बर बनाउन सहयोग गर्छ । घाम छिप्पिँदै जाँदा पानीको मात्रा बढाउँदै लाने र घाम अस्ताउँदै जाँदा मात्रा घटाउँदै पानी पिउने गरे शरीरको भित्रि वातावरण सन्तुलित रहन्छ ।
माथी उल्लेख गरिएका पानी सम्बन्धी टिप्सहरु सिधै स्वास्थ्य संग जोडिएका र नियमीत प्रयोगमा आइरहने भएकाले कुनै जटिल स्वास्थ्य समस्या भएका व्यक्तिले सजगता अपनाउनु आवस्यक छ । साथै त्यस्ता व्यक्तिहरुले कुनैपनि टिप्स या स्वास्थ्य संग सम्बधित क्रियाकलाप गर्दा चिकित्सकको सल्लाह लिनु आवस्यक छ ।