Logo
Logo

कारबाहीको लिस्ट ओलीको गोजीमा


6.7k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको बहानामा केही नेतालाई पार्टीबाट कारवाही गर्ने तयारी गरेका छन् ।

उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा उजुरी छानवीन र कारवाही गर्ने संयन्त्र त बनाइएको छ, तर एउटा पनि उजुरी पौडेलसँग छैन । भएजति उजुरी सबै ओलीसँगै छन् । तीमध्ये को कारवाहीमा पारिने हुन्, को निश्कासित हुने हुन् भन्ने कुरा ओलीको इच्छामा निर्भर रहेको एमालेका एक नेताले बताए ।

‘पार्टीमा राखिराख्दा वा कारबाही नगर्दा भोलिको चुनावमा टिकट दिनैपर्ने केही नेतालाई ओलीले लक्षित गर्नुभएको छ’, एमालेका एक पदाधिकारीले भने, ‘त्यसमा को–को पर्छन् भन्ने कुरा विष्णु पौडेल त के ओलीबाहेक कसैलाई थाहा छैन ।’ उजुरीको छानबिन र कारबाही गर्ने अधिकार दिएर समिति बनाइए पनि विष्णु पौडेल आफैँ ‘कुहिराको काग’ भएका छन् । कतिपय सरोकारवाला नेता–कार्यकर्ता उनलाई भेट्न गएका छन् । तर, उनीसँग उजुरी र कारबाहीका बारेमा कुनै जवाफ छैन ।

‘चुनाव हार्नेले फलानोले हरायो भनेको भरमा कारबाही गर्ने हो भने त आधा साथीहरू कारवाही भोगेर पार्टी छाड्ने स्थितिमा पुग्नुहुन्छ’, पौडेलले एकजना कार्यकर्तासँग भने, ‘तर, केही–केही अन्तर्घातका घटनाबारे कुनै न कुनै कदम चालिएन भने आउने चुनावहरूमा हामीलाई अप्ठेरो पर्नेवाला छ ।

’उनले काठमाडौं, धरान, पोखरा, बुटवल र भरतपुरका चुनावी घटनाहरू देखिने गरी पार्टी हितविपरीत भएको भन्ने गरेका छन् । तर, को कारबाहीमा पर्ने ? कोसँग स्पष्टीकरण सोध्ने ? कसलाई सचेत गराउने ? र, कसलाई निश्कासन गर्ने ? आदि प्रश्नबारे उनी अनुत्तरित छन् । पौडेल भन्ने गर्छन्, ‘अध्यक्षले के भन्नुहुन्छ ? हेरौँ ।’

ओलीले बैठकमै भनिसकेका छन्, ‘पार्टीको कार्यनीति मन नपर्ने, तर पार्टीमा रहिरहनुपर्ने चाहिँ किन रहेछ ?’ अर्थात्, केही नेतालाई आफूले कारबाही गर्नुअघि नै बाटो तताए हुन्थ्यो भन्ने उनको आशय थियो । उक्त बैठकमा उनले आगामी निर्वाचनमा केही दलहरूसँगको सहयात्रासहित चुनावमा जाने, तर वामपन्थीका बीच कुनै तालमेल नहुने बताएका छन् ।

बालकोट स्रोतका अनुसार त्यही नीतिअनुसार निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका ओलीले कात्तिक महिनाभित्र समाजवादी र माओवादीका केही मुख्यमुख्य नेतालाई एमालेमा ल्याइसक्ने पनि सुनाएका छन् । त्यसमा समाजवादीका असन्तुष्ट पक्ष भएको बालकोट स्रोतले जनाएको छ । ‘हल्ला गरेर यस्तो काम हुँदैन’, बैठकमा ओलीले भने, ‘के–के भइरहेको छ भन्ने कुरा पनि अहिले नगरौँ, तर जे भइरहेको छ, राम्रै कुराहरू भइरहेका छन् ।’

उनले प्रत्यक्षतर्फ चुनाव जित्ने ५० वटा क्षेत्रलाई ख्याल गर्न सके समानुपातिकबाट आउने भोटले पार्टी संसदको पहिलो बन्ने निश्चित भएको पनि आंकलन गरेका छन् । ओलीले भन्ने गरेका छन्, ‘यसपालि कसैको स्पष्ट बहुमत आउने होइन । संसदमा भएका पार्टीमध्ये ठूलो हुने हो, त्यो हामी नै हो ।’ ओलीका यी कुराहरू सुनेपछि केही प्रतिक्रिया दिन चाहेका नेताहरूले बोल्ने पालो पाएनन् ।

कतिपय नेताले भने बोल्नुभन्दा नबोल्नु बेस भनेर चित्त बुझाएका छन् । एकजना नेताले दृष्टिलाई भने, ‘बोल्यो, उल्टै खेदो खनेर बसिखान दिँदैन, नबोलौँ, यो पाराले कसरी ठूलो पार्टी हुनु ?’ ओलीले कारवाहीका लागि को–को व्यक्ति तयार पारेका छन् भन्ने कुरा गोप्य नै छ । तर, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कारबाहीको कुरा बेमौसमको बाजा भएको कुरा ओलीसँगै बताएका छन् ।

‘पार्टीलाई एकताबद्ध बनाएर लैजानुको सट्टा भएका नेता–कार्यकर्ताको चित्त दुखाउने काम नगरौँ’, अष्टलक्ष्मीले भनेकी छिन्, ‘चुनावमा टिकट कसलाई दिने, कसलाई नदिने भनेर आजैदेखि हिसाब निकाल्नुभयो भने त्यो अर्को भूल हुन्छ । ’अष्टलक्ष्मीले आफ्नो कुरा भनेपछि ओलीले त्यसलाई हाँसेर उडाइदिएका थिए । ओलीचाहिँ अहिलेदेखि नै व्यक्ति–व्यक्ति छानेर पार्टी जिम्मेवारी, चुनावको टिकटलाई ख्याल गर्दै कारबाहीको तयारीमा छन् ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ओलीको अनुमति पाए माधवकुमार नेपालहरूसँग आफूले कुरा गरेर तालमेलको पहल गर्नसक्ने बताएका थिए । तर, ओलीले ‘त्यतातिर नजाऔँ’ भन्दै कुरा तर्काएको एमाले स्रोतले जनाएको छ । ओलीको कार्यशैलीप्रति पृथ्वीसुब्बा पनि निराशा छन् । उनले जिल्लाका केही कार्यकर्ताबीच केही दिनअघि भनेका छन्, ‘केपीको बुद्धि कति सप्रिन्छ, हाम्रो भविष्य त्यसैमा छ । अहिलेसम्म हेर्दा केही छाँटकाँट छैन ।’

एमालेको स्थिति यस्तो भएपछि आगामी भूमिका कस्तो हुने भन्नेबारे घनश्याम भुसाल, डा.दिपकप्रकाश भट्टहरू कसरी अगाडि जाने भन्नेबारे छलफल गरिरहेका छन् । उनीहरूले एमालेभित्र लड्ने ठाउँ नभएका कारण अलग्गै राजनीतिक समूह बनाएर जानुपर्ने वा कुनै पार्टी रोजेर त्यसमा लाग्नुपर्ने स्थिति भएको ठहर गरेका छन् ।

अलग्गै राजनीतिक समूह बनाउँदा अहिले च्याउ उम्रिए सरिका ‘स्वतन्त्र अभियान’ का मान्छेहरूजस्तै फितलो हुने खतरालाई दृष्टिगत गर्दै राजनीतिक, वैचारिक रुपमा अगाडि बढ्दा अगामी निर्वाचनलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे उनीहरू छलफल गर्दैछन् ।

‘ओलीले अपमानित गर्ने, भूमिका नदिने र पार्टी छोडेर जाऊसम्म भनिसकेको अवस्थामा यसरी नै अगाडि बढ्न सकिँदैन भन्ने कुरामा उहाँहरू प्रष्ट हुनुहुन्छ । तर, कसरी अगाडि जाने भन्ने बाटोचाहिँ पहिल्याइसक्नुभएको छैन’, भुसाल समूहनिकट स्रोतले दृष्टिलाई भन्यो ।

प्रतिक्रिया दिनुहोस्