खेल सिद्धिनै पर्दछ सुरु भएपछि
सकिनै पर्दछ
थपिन सक्छ केही समय
अन्ततः सकिनै पर्दछ
सधैँ जित हुँदैन
न हार हुन्छ सधैँ
बराबरीमा पनि सकिन्छ
सबभन्दा निर्णायक खेल
मान्छेको आफैसँग हुन्छ
उसको मनभित्रको अनवरत खेल
जहाँ उ आफैसँग भिडी रहेको हुन्छ
कहिले हार्छ, कहिले जित्छ
कहिले बराबर
यो क्रममा एउटा अन्तराल सकिन्छ
जब उ सकिन्छ
उसले जित्यो कि हार्यो ?
यहाँ न जित हुन्छ, न हार
केवल अहम् बचाउने द्वन्द्व हुन्छ
यस्तो हारजित नहुने खेलमा
हामी सबै छाैँ
जसको नाम हो जीवन
तर दाह्रा किटिरहेका ती अनुहारहरूले
दाह्रा किट्न कहिले छोडेनन्
किच्चक हाँसोको फोहरा छोडिरहेका ती चेहराहरूले
अर्को हाँसो हाँस्नै जानेनन्
यो खेलको अन्तिम विश्राम स्थलमा
प्रवाह सिर्फ एउटै मात्र हुन्छ
जुन सकिनको लागि मात्र मिसिन्छ ।