Logo
Logo

बाढीमा मृत्यु भएकामध्ये तीनको सनाखत, बेपत्ता एक सम्पर्कमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

लमजुङ, ९ साउन । दोर्दीखोला बाढीमा परेर मृत्यु भएकामध्ये तीनको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये बिहीबार तीन शवको सनाखत भएको हो ।
ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी, डडेलधुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए । उनका अनुसार एउटा शवको अझै सनाखत हुनसकेको छैन । सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरा र अर्को शव कीर्तिपुरमा भेटिएको थियो । सनाखत हुन नसकेको शव कीर्तिपुरमा भेटिएको प्रहरीले जनाएको छ ।
बाढीमा परी आठ घाइते भएका छन् । घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विभिन्न जिल्लाको रहेको प्रहरीको भनाइ छ । सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
शव भेटिएका, घाइते र बेपत्ता भएका सबै सोही गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको प्रहरी निरीक्षक पाण्डेले बताए । बेपत्तामध्ये एक जना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिए । चारवटै शव परीक्षणका लागि बेँसीशहरको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्