नवलपुर । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासीले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्वास्थ्य सतर्कता अपनाउनका लागि मास्क लगाउन अनुरोध गरेका हुन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए ।
‘अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ’, घिमिरेले भने ।
आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा सङ्घसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।