काठमाडौं । सचिवमा बढुवा भएको करिब तीन वर्षपछि सचिव रामकृष्ण सुवेदीले मन्त्रालयमा काम गर्ने अवसर पाएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई शिक्षा मन्त्रालयमा सरुवा गरेको हो ।
सचिव भएको करिब दुई वर्षसम्म केपी ओली सरकारले अन्यायपूर्वक रुपमा प्रदेशमा राखेको थियो । गत वर्ष उनको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको थियो । उपराष्ट्रपति कार्यालयबाट हाल शिक्षा मन्त्रालय पुगेका हुन् । केही सचिवहरु बढुवाकै दिनदेखि मन्त्रालयमा बसेर अवकाशसम्म मन्त्रालयमै हुने गरेका छन् । तर, केहीलाई भने अन्यायपूर्ण रुपमा प्रदेश तथा अन्य निकायमा राख्ने गरिएको छ ।
सोमबारको मन्त्रिपरिषद्ले शिक्षा मन्त्रालयका सचिव यादब कोइरालालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । त्यस्तै, लोक सेवा आयोगमा कर्णाली प्रदेशमा कार्यरत राजकुमार श्रेष्ठको सरुवा गरिएको छ । लोक सेवा आयोगमा सचिव पद खाली थियो । कर्णाली प्रदेशमा भने हालै बढुवा भएका डा.गोपी खनाललाई पठाइएको छ ।