Logo
Logo

ट्राफिक नियम उल्लङ्घन गर्नेबाट २ करोड राजस्व सङ्कलन


4k
Shares

नवलपुर । ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले २ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले २ करोड ११ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षमा मा ३१ हजार १९३ चालकलाई कारबाही गरिएको प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताए ।

जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका उनले बताए । विसं २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म ११ हजार ७५३ वटा ट्रक चालक कारबाहीमा परेका थिए ।

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत ८४ लाख १५ हजार ५ सय राजस्व सङ्कलन गर्न सफल भएको थापाले जानकारी दिए । त्यस्तै सोही अवधिमा ११ हजार ७१ मोटरसाइकल चालक कारबाहीमा पर्दा ७७ लाख ५६ हजार ५ सय र दुई हजार ११२ यात्रुवाहक बसलाई कारबाही गर्दा १२ लाख ८१ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक थापाले बताए ।

चार हजार ४१४ हलुका सवारी साधन (जीप, कार तथा भ्यान) चालकबाट २५ लाख ८३ हजार ५ सय र एक हजार ७४३ ट्र्याक्टर चालकबाट ११ लाख ४५ हजार जरिवाना असुल गरिएको थियो । जिल्लामा गत आव २०७८/७९ मा १२३ वटा सवारी साधन दुर्घटनामा परेका र त्यसमा ३९ जनाले ज्यान गुमाएका थिए भने २३९ सख्त घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्