Logo
Logo

सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ : खानेपानीमन्त्री


378
Shares

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिएका छन् ।

हाल तीन प्रतिशतमात्र फोहर पानी प्रशोधन भएको तथ्याङ्क सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर पानी प्रशोधन गराउनु सरकारका लागि चुनौती छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुरको धोबीघाटमा निर्माण गरिरहेको फोहर पानी प्रशोधन केन्द्रको आज अवलोकन गर्दै उनले खानेपानीको माग धेरै आउने गरे पनि फोहर पानी प्रशोधनको माग कम हुने गरेको बताए ।

फोहर पानी प्रशोधन गर्ने काममा अब सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने भनाइ सो अवसरमा मन्त्री चौधरीले राखे । ‘जनसङ्ख्या र सहरीकरण दुवै बढेको छ, अब ७५३ वटै स्थानीय तहमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्नु आवश्यक छ, अहिले बनिरहेका धोबीघाटलगायत स्थानका प्रशोधन केन्द्र पनि समयमै निर्माण हुनुपर्छ’, उनले भने ।

धोबीघाटमा हाल दुई वटा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । यही जुलाई अन्तिममा एउटा केन्द्रको म्याद सकिँदैछ । यही महिनामा म्याद सकिने आयोजनाको हालसम्म २६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।

अर्को आयोजनाको म्याद डिसेम्बर अन्तिममा सकिने जनाइएको छ । यो आयोजनामा करिब ८० प्रतिशत भौतिक प्रगति छ । सन्तोषजनक अवस्थामा रहेको यो आयोजना तोकिएकै समयमा सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्