Logo
Logo

गंगालालमा रोकियो मुटु शल्यक्रिया


2.5k
Shares

काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ ।

अत्यावश्यक ‘अक्सिजेनेटर’ सकिए पनि अस्पतालले बेलैमा प्रबन्ध नगर्दा मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाइएको छ । मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम कृत्रिम रूपमा सञ्चालन गर्नुपर्छ । यसका लागि ‘अक्सिजेनेटर’ ले सहयोग गर्छ ।

यसले रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ । यो उपकरण एक पटकमा एक जना बिरामीलाई मात्र प्रयोग गर्न सकिन्छ । यसको मूल्य ४० देखि ५० हजारसम्म पर्छ, जसको भुक्तानी बिरामीले स्वयंले गर्नुपर्छ । उपकरण सकिन थालेको जान्दा जान्दै पनि अस्पताल व्यवस्थापनले एक महिनाअघि मात्रै खरिद प्रक्रिया सुरु गरेको थियो ।

हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा ल्याउने सम्झौता भए पनि त्यो कहिले आउने हो, निश्चित छैन । अस्पतालले २०७६/७७ र २०७७/७८ मा कोभिड महामारीका कारण शल्यक्रिया गराउने संख्यामा उल्लेख्य कमी आएको भन्दै ‘अक्सिजेनेटर’ खरिदमा चासो दिएको थिएन । गंगालालमा दैनिक ७ देखि ८ जनाको शल्यक्रिया हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार गंगालालमा शल्यक्रिया सेवा रोकिएपछि स्वास्थ्यमन्त्री, सचिव, नीति योजना महाशाखा प्रमुखलगायतबीच छलफल भएको थियो । तर, छलफलले कुनै निष्कर्ष निकालेन । स्वास्थ्य सचिव डा. रोशन पोखरेलले यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘अभाव भएको हो, यसबारेमा गंगालालमै बुझ्नुस्,’ उनले यतिमात्रै भने ।

गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीले युक्रेन–रुस युद्धले कच्चा पदार्थ अभावका कारण उत्पादनमा कमी आएकाले समयमै ‘अक्सिजेनेटर’ ल्याउन नसकेको दाबी गरे । ‘नेपालमा मात्र नभई भारतमा पनि अभावका कारण अपरेसन प्रभावित बनेको छ,’ उनले भने । तर यति संवेदनशील शल्यक्रियासँग जोडिएको उपकरण ल्याउन एक महिनाअघि मात्रै प्रक्रिया किन अघि बढाइयो भन्नेमा अस्पताल प्रशासनले ठोस जवाफ दिन सकेन ।

‘अक्सिजेनेटर’ अभावकै कारण शल्यक्रिया रोकिएपछि बिरामी मर्कामा परेका छन् । बुटवलका ५७ वर्षीय भूमराज ढकाल वैशाखमा अस्पताल आएका थिए । मिति सर्दासर्दै मंगलबार शल्यक्रिया तोकिएको थियो । यसकै लागि उनलाई भर्ना गरेर प्रि–सर्जिकल वार्डमा राखिएको थियो ।

‘५–७ पटक धाएपछि बल्लतल्ल पालो आयो भनेर दंग परेका थियौं,’ श्रीमतीले सुनाइन्, ‘एक्कासि डिस्चार्ज गरेर एक महिनापछि आउनु भनेर पठाइदिए ।’ उनका अनुसार समयमा शल्यक्रिया गर्न नसक्दा ढकाललाई दुई पटक हृदयाघात भइसकेको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्