Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा वेलायती प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ ।

आफ्ना वेलायती समकक्षीलाई बधाई ज्ञापन गर्दै पठाएको पत्रमा प्रधानमन्त्री ओलीले नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गर्नु भएको छ । “नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्र राष्ट्र बेलायत नै हो” प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ “आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ ।”

प्रधानमन्त्री ओलीले सन्दर्भवश, आफ्नो भर्खरै भएको वेलायत यात्राको प्रसंग उल्लेख गर्दै भन्नुभएको छ, “तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद र व्यापारिक समुदायसँगको अन्तरक्रियाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो ।”

“बेलायत सरकारले नेपालको विकास प्रयासमा गरेको निरन्तर मद्दत र सहयोगको प्रसंसा गर्दै प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, “नेपालमा लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्ट्रबाट हाम्रो सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्चस्तरको सहयोगको अपेक्षा गर्दछौं । ”

प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकाल तथा वेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना प्रकट गर्दै भन्नु भएको छ “म आउने दिनमा दुई देशको सम्बन्ध अझ मजबुत बनाउन तपाईसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्