Logo
Logo

भरतपुर विमानस्थल विस्तार चालु आवदेखि शुरु हुन्छ : पर्यटनमन्त्री


567
Shares

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उनले तत्काल काम अघि बढाइने बताए ।

हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष्ठले विमानस्थल विस्तारका लागि आवश्यक जग्गा दिन नेपाली सेना तयार भएको भन्दै अब काम अघि बढ्ने बताए । उनले भने, ‘यो विमानस्थल विस्तारका लागि मन्त्रालयले उच्च महत्व दिएको छ ।’

विमानस्थलको धावनमार्ग विस्तारका लागि ३०० मिटर जग्गा आवश्यक पर्ने भन्दै उहाँले यस विषयमा प्रधान सेनापतिसँग सकारात्मक छलफल भएको बताए । उनले भने, ‘जमिनको कारणले काम रोकिन्न ।’

चितवनका लागि मात्रै नभएर देशकै लागि यो विमानस्थल महत्वपूर्ण भएको भन्दै उनले नागरिक उड्डयन प्राधिकरणको बजेटबाट काम अघि बढ्ने जानकारी दिए । भरतपुर महानगरपालिकाले निरन्तररूपमा विमानस्थल विस्तारका लागि घचघच्याउने कार्य गरेकोमा महानगरलाई धन्यवाद दिए ।

सोही अवसरमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणकै बजेटबाट विस्तृत अध्ययन प्रतिवेदनको काम तत्काल थाल्ने बताए । गर्मीको मौसममा जहाजले पूर्ण क्षमतामा उडान भर्न यहाँ नसकेको भन्दै उनले विसं २०८० सम्ममा ठूला जहाज रातिसमेत उडान गर्नसक्ने गरी विमानस्थल विस्तार गरिने बताए । रातिको समयमा काठमाडौँ बाहिरका विमानस्थलमा २० वटा जहाज बस्ने गरेको भन्दै उनले राजधानी नजिक भएर पनि हवाई सुविधामा पछाडि परेको बताए । उनले भने, ‘अब हामी ढिलो गर्दैनौँ, तत्काल काम थाल्छौँ ।’

महानगर प्रमुख रेनु दाहालले पहिलोपटक आफू प्रमुख भएपछि निरन्तररूपमा विमानस्थल विस्तारमा लागिरहेको बताए । उनले भने, ‘अब हामी विमानस्थल विस्तारका लागि छलफलमा बस्नुपर्दैन भन्ने मलाई लागेको छ ।’ यो विमानस्थल प्रदेशकै महत्वपूर्ण विमानस्थल बन्ने उनले बताए । आवश्यक सहजीकरणका लागि महानगर जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको भन्दै उनले तत्काल विस्तारका लागि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्