Logo
Logo
गभर्नरको बचाउमा एमाले

नैतिक धरातल गुमाएका गभर्नरलाई एमालेको काँध

कालो धनलाई सेतो बनाउन नदिएका कारण गभर्नरमाथि आक्रमण भयो– शंकर


6k
Shares

काठमाडौं । गभर्नरको रुपमा महाप्रसाद अधिकारीको नैतिकतामा प्रश्न उठाउने धेरै आधार छन् । उनीमाथि अर्थतन्त्रसँग सम्बन्धित सूचना चुहावट गरेको जस्ता गम्भीर आरोपसमेत लागेका छन् ।

सूचना चुहावट गरेको र देशको आर्थिक अवस्था संकटमा रहेको भन्दै अनर्गल प्रचार गरेको आरोप लगाएर सरकारले गभर्नरलाई कारबाही गरेको थियो । तर, सरकारको कारबाही अदालतले बदर गर्यो । त्यसपछि महाप्रसाद गभर्नरको रुपमा काम गरिरहेका छन् ।

वर्तमान सरकार बनेदेखि नै सरकारको सल्लाहकारभन्दा पनि प्रमुख प्रतिपक्षी दलको भूमिकामा प्रस्तुत भएको भन्दै महाप्रसादको आलोचना हुने गरेको छ ।

पछिल्लो एक घटनाबाट गभर्नर महाप्रसाद झनै विवादमा छन् । तथ्यहरुले नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य ‘एम अधिकारी’ भनेको गभर्नर महाप्रसाद अधिकारी नै हुन् भन्ने पुष्टि गरिसकेको छ ।

गभर्नर कुनै अमुक पार्टीको जिम्मेवारीमा रहनु उचित मानिँदैन । यस अर्थमा गभर्नरले नैतिकताको आधारमा पदबाट राजिनामा दिनुपर्ने माग हुँदै आएको छ । तर, महाप्रसाद तत्कालै राजिनामा दिने पक्षमा छैनन् ।

महाप्रसादले आफू एम अधिकारी नभएको भनेका छन् । नेकपा एमालेले पनि ‘एम अधिकारी र महाप्रसाद अधिकारी एउटै व्यक्ति होइनन्’ भनेको छ । तर, महाप्रसाद र एमाले दुवैले अहिलेसम्म एम अधिकारी देखाउन सकेका छैनन् ।

यस बिचमा एमालेले नक्कली एम अधिकारीको रुपमा विराटनगरका मनोज अधिकारीलाई प्रस्तुत गर्न खोजेको थियो । तर, उनले आफू उक्त व्यक्ति नरहेको सार्वजनिक रुपमै भनिसकेका छन् ।

एमालेले नक्कली एम अधिकारी खडा गर्न खोज्नुले पनि महाप्रसाद नै एम अधिकारी हुन् भन्ने आधारलाई थप बल पुगेको छ । एमालेले अझै पनि एम अधिकारी खोज्ने प्रयत्न गरिरहेको बुझिन्छ । तर, एम अधिकारी भनेका यी हुन भनेर देखाउन सकेको छैन ।

केही दिन अगाडि मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नरलाई राजिनामा दिन भनिसकेका छन् । गभर्नरले प्रधानमन्त्रीसँग ‘मौद्रिक नीति सार्वजनिक गरेपछि बिदामा बस्छु’ भनेका छन् ।

नैतिकताको प्रश्न उठेपछि राजिनामा दिने मनस्थितिमा पुगेका गभर्नर महाप्रसादलाई बचाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने न्वारन देखिको बल लगाएर लागिपरेको छ ।

बुधबार नेकपा एमालेको प्रचार विभागले अनलाइन मिडियाका सम्पादकहरुसँग अन्तरक्रिया आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख वक्ताको रुपमा महासचिव शंकर पोखरेल सहभागी थिए । पोखरेलले गभर्नरको बचाउ गर्ने प्रयासमा सरकारमाथि गम्भीर आलोप लगाए ।

कालो धनलाई सेतो बनाउन नसकेका कारण, गभर्नरले नदिएका कारण सरकारले गभर्नरमाथि आक्रमण गरेको पोखरेलले आरोप लगाए । पोखरेलले भने– ‘गभर्नरमाथि जुन प्रकारको आक्रमण भएको छ, के कारणले भन्दा ब्ल्याकलाई ह्वाइट बनाउने योजना असफल भएका कारण, असफल बनाएका कारण आक्रमण भएको हो ।’

महासचिव पोखरेलले एमालेले गठन गरेका अन्य विभागका सदस्यबारे प्रश्नै नहुने तर एम अधिकारीको विषमा मात्र किन प्रश्न ? भन्दै रोष प्रकट गरे ।

उनले भने– ‘नेकपा एमालेले विभाग गठन गर्दा राखेको नामसँग जोडेर गभर्नरमाथि जे अत्याचार भएको छ, त्यो यति सारो हल्लाखल्ला गर्नु पर्ने विषय होर ? नेकपा एमालेका विभागमा कति सदस्य छन् ? कसैले प्रश्न गरेको छ ?’

अनेक आरोप लागेका गभर्नरको बचाउमा महासचिव पोखरेलले अर्को धारणा पनि राखेका छन् । देशमा वित्तीय संकट चाहनेले मात्र गभर्नरमाथि प्रश्न गर्ने उनको तर्क छ ।

पोखरेल भन्छन्– ‘अहिले गभर्नर असफल हुनु भनेको मुलुकमा वित्तीय संकट खडा गर्न खोज्नेहरुलाई प्रोत्साहन गर्नु हो । त्यसैले अहिलेको अवस्थामा गभर्नरमाथि प्रश्न गर्ने बहस असान्दर्भीक छ ।’

गभर्नर जस्तो सम्वेदशील जिम्मेवारी निर्वाह गरिरहेका व्यक्तिमाथि उठेका प्रश्नहरुमाथि निष्पक्ष छानविन हुनुपर्ने माग उठिरहेको छ । गभर्नरको राजिनामा माग गर्दै दैनिक प्रदर्शनसमेत हुने गरेको छ ।

निष्पक्ष छानविको वातावरण बनाउन प्रमुख प्रतिपक्षी दलले पनि भूमिका निर्वाह गर्नुपर्ने आवाज उठिरहेको बेला एमालेले सरकारविरुद्ध प्रहार गर्ने हतियारको रुपमा गभर्नरलाई प्रयोग गरेको गम्भीर आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्