Logo
Logo

अब उद्देश्यसहित गठबन्धन : गगन थापा


378
Shares

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदै गरेको संघ प्रदेशको निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल के का लागि हो पहिले नै टुङ्गो लाग्नुपर्ने बताएका हुन् । महामन्त्री थापाले चुनावपछि र अगाडिको तालमेल असफल भएको बताए । उनले भने, ‘तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।’ तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे ।

महामन्त्री थापाले आउँदो चुनावका लागि गरिने तालमेलमा न्यूनतम समझदारी बन्नु पर्ने बताए । निर्वाचनअघि गरिने तालमेल दलहरूका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए ।

उनले भने, ‘यी कुरामा समझदारी हुँदैन भने तालमेल नगरेकै राम्रो ।’ न्यूनतम समझदारी नबनी तालमेल गर्दा चुनाव जितिसकेपछि साना कुरा, तानातानले तालमेल टुट्न सक्ने उनको भनाइ छ ।

तालमेलमा रहेका दलहरूमा खाली सिटको बाँडफाँट हुने । चुनाव जित्ने कुरालाई मात्रै ध्यान दिने, चुनाव जितिसकेपछि आ-आफ्नो मत रहने हो भने सानो कुराको स्वार्थले पनि दुर्घटनामा पर्दोरहेछ भन्ने कुरा नेपाल कम्युनिस्ट पार्टीको २०७४ सालको चुनावबाट देखेका छौँ’, महामन्त्री थापाले भने, ‘चुनावमा एउटा पार्टीले एक्लै लड्दा बहुमत ल्याउने अवस्था छैन ।’

नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको उनले बताए । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उनको भनाइ थियो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको उनले जिकिर गरे । फरक प्रसङ्गमा महामन्त्री थापाले पार्टी सभापतिलाई बलियो बनाउँदै विधिसम्मत पार्टी चलाउन आफूहरूको दबाब रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्