काठमाडौं । संविधान जारी भएपछि डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रबाट बाहिरिए । ३० जेठ २०७३ मा नयाँ शक्ति पार्टी नेपाल घोषणा गरे ।
नेपालमा कम्युनिष्ट आन्दोलनको औचित्य समाप्त भएको बाबुरामको निष्कर्ष थियो । राज्य र बजार नियन्त्रित समाजवाद होइन अब ‘सम्मुनत समाजवाद’ भन्ने बाबुरामको राजनीतिक लाइन थियो ।
माओवादी आन्दोलनकै जगमा उच्च राजनीतिक छवि बनाएका बाबुराम माओवादी आन्दोलनबाट विचलित हुनुको कारण अहिलेसम्म पुष्टि भएको छैन । नयाँ शक्ति पार्टी नेपालमार्फत माओवादी परित्यागको पुष्टि गर्ने बाबुरामको उद्दघोष पुरा भएन ।
बाबुरामको नयाँ यात्रा तीन वर्ष पनि टिक्न सकेन । २३ बैशाख २०७६ संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकता भयो । सँगै, बाबुरामको नयाँ शक्ति निर्माणको अभियान विर्सजन भयो ।
उपेन्द्र यादव र बाबुराम नेतृत्वको पार्टीबीच एकता भएपछि ‘समाजवादी पार्टी नेपाल’ बन्यो । सँगै, बाबुरामले अघि सारेको सैद्धान्तिक आधार ‘सम्मुनत समाजवाद’ अलमलमा पर्यो । दुई पार्टीबीचको एकतापछि बनेको पार्टीले ‘सम्मुनत संघीय समाजवाद’लाई सैद्धान्तिक आधार बनाए पनि त्यसबारे आवश्यक बहस हुन सकेन ।
संघीय समाजवादी फोरमसँग एकता भएको एक वर्षसम्म बाबुराम कुहिरोको काग झै अलमलमै रहे । सबैभन्दा ठूलो पार्टीको दोस्रो नेताको रुपमा काम गरेका बाबुराम क्षेत्रिय पार्टीको नेतृत्व गरिरहेका उपेन्द्रको छायामा परे ।
नेपाली राजनीतिको ‘प्याराडाइम सिप्ट’ गर्ने उद्दघोष गरेका बाबुरामले फोरमसँगको एकताकै क्रममा सवथोक गुमाए । फोरम बाबुरामको दृष्टिकोणमा यथास्थितिवादी पार्टी थियो । नयाँ शक्ति गठन गरेपछि शक्तिहीन बनेका बाबुराम पुनः शक्ति आर्जनको लोभले फोरमको भंगालेमा मिसिए ।
फोरमसँग एकता गरेको वर्ष दिन नबित्दै १० बैशाख २०७७ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भयो । त्यसपछि बन्यो– जनता समाजवादी पार्टी, नेपाल (जसपा) । जसपामा पनि बाबुराम झनै छायामा परे ।
बलियो राजनीतिक धरातल बनाएका मधेसी दलका नेतासँग धरातल नै नभएका बाबुरामको कद मिल्दै मिलेन । पार्टीले पाउने हरेक अवसरमा बाबुराम समूह बञ्चित बन्यो । आन्तरिक जिम्मेवारी बाँडफाँटमा पनि उस्तै अवस्था रह्यो ।
जसपाले बाबुरामलाई ‘संघीय परिषद’ गठन गरी अध्यक्ष बनाएर ‘सेरेमोनियल’ बनायो । पार्टी एकतासँगै शक्तिशाली बन्ने सपना देखेका बाबुराम एक–एक गर्दै कमजोर हुँदै गए । त्यसपछि जसपाभित्र बाबुरामका असन्तुष्टिहरु सार्वजनिक हुन थाले ।
माओवादी परित्यागपछि भोगेको अनेक असफलताले आजित थिए, बाबुराम । त्यो बेला नै बाबुराम माओवादीमा फर्कने सोचमा पुगिसकेका थिए । तर, उचित उपाय र अवसरको पर्खाइमा थिए । यत्तिकैमा ठूलो राजनीतिक उथलपुथल भयो ।
५ पुष २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघठन गरे । त्यसछि देश आन्दोलित भयो । वर्तमान सत्ता गठबन्धनको जग ओली प्रतिगमन थियो । प्रतिगमन विरुद्धको आन्दोलनमा जसपा सक्रियतापूर्वक लागिपर्यो । बाबुराम अग्रपंक्तिमा थिए ।
ओली प्रतिगमनले प्रचण्ड–बाबुरामलाई कार्यगत एकताको अवस्थामा पुर्यायो । त्यसपछि प्रचण्ड–बाबुरामको सम्बन्धमा सुधार भयो । संवादहरु बाक्लिदै गयो ।
प्रतिगमन विरुद्धको आन्दोलन सफल भएसँगै एमाले–माओवादी एकता पछि बनेको नेकपा विभाजन भयो । एमाले र माओवादी पूर्ववत अवस्थामा फर्के । नेकपा विभाजन भएपछि एक भेटमा बाबुरामले प्रचण्डलाई भनेका थिए– ‘अब नयाँ पार्टी निर्माणमा जुटौं । हामी एक हुन सक्छौं ।’
२३ फागुन २०७७ मा सर्वोच्चले नेकपा खारेज गरेपछि बाबुरामले प्रचण्डसँग ‘समाजवादी केन्द्र’ निर्माणको प्रस्ताव गरेका थिए । प्रचण्डले पनि सकारात्मक संकेत गरेका थिए । तर, प्रचण्डलाई एमाले भित्रको माधवकुमार नेपाल समूहको चिन्ता थियो ।
सर्वोच्चले व्युँताएपछि एमालेमा अन्तरविरोध झनै चर्कियो । एमालेको अन्तरविरोध अन्तत विभाजमा परिणत भयो । ९ भदौ २०७८ मा निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रमाणपत्र दियो । यसै सिलसिलामा बाबुरामको पार्टी पनि विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको थियो ।
०००
बारम्बारको असफलताले आजित बाबुरामलाई पुरानै घर राम्रो लाग्न थालेको थियो । तर, माओवादी परित्याग गरेपछि माओवादीविरुद्ध गरेका अनेकौं टिप्पणीका कारण फर्कन सहज थिएन । ओली प्रतिगमन विरुद्धको संघर्षका क्रममा प्रचण्डसँगको हिमचिमपछि बाबुरामलाई केही सहज महसुस भएको हो ।
यसै क्रममा स्थानीय तह निर्वाचन आयो । टिकट बाँडफाँटका क्रममा जसपाभित्र बाबुराम फ्याक्टर निरीह बन्यो । बाबुरामले आफ्नै जिल्लामा सबै गुमाए । बाबुराम समूहले थोरै टिकट पाएको भए पनि जित हात परेन । यस घटनाले पनि बाबुरामलाई हतास बनायो ।
स्थानीय तहको निर्वाचनसँगै जसपाभित्रको अन्तरविरोध उत्कर्षमा पुग्यो । त्यसँगै बाबुरामले प्रचण्डसँग थप छलफल बढाए । बारम्बार माओवादीसँग एकताको प्रस्ताव गरे । पार्टी एकताको प्रयास उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासबाट सुरु भयो ।
पासाङ निवासमा भएको भेटमा पनि बाबुरामले समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारेका थिए । प्रचण्डले माओवादीमै फर्कन आग्रह गरेका थिए । तर, बाबुरामले असहजताहरु सुनाए । प्रचण्डले ‘छलफल गर्दै जाउ’ भने ।
०००
पार्टीमा हुँदै आएको बारम्बारको अपहेलनाले बाबुरामलाई बिद्रोहको बाध्यात्मक परिस्थितिमा पुर्याएको थियो । यसै क्रममा उपेन्द्रले असार २७ र ७८ गते केन्द्रीय समितिको बैठक वीरगन्जमा बोलाए । लगत्तै बाबुरामले सोही बैठक काठमाडौंमा बोलाए ।
काठमाडौं बैठकबाट बाबुरामले विद्रोह गर्ने निर्णय गरे । वीरगञ्जमाबाट उपेन्द्रले बाबुरामलाई कारबाही गरे । त्यसपछि आजसम्म बाबुराम पार्टीबिहीन छन् ।
राजनीतिक जीवनको उत्तरार्धमा पार्टीबिहीन बनेका बाबुरामलाई नयाँ शक्ति गठन गर्दाको जस्तो जोस छैन । नयाँ शक्ति गठन गरेपछि खाएका अनेक हण्डरहरुले बाबुरामलाई राम्रै पाठ सिकाएको छ । त्यसैले, केही समय पार्टीबिहीन बसेरै भएपनि राम्रो निर्णय गर्ने पक्षमा छन्, बाबुराम ।
०००
‘नयाँ पार्टी गठन गरेर केही गर्न सकिन्न’ भन्ने बाबुरामको पछिल्लो निष्कर्ष हो । त्यसो भए के गर्ने ? यसै प्रश्नको जवाफ खोज्न बाबुराम भौतारिरहेका हुन् । यसै क्रममा पछिल्लो दुई सातामा बाबुरामले पुराना कमाण्डर प्रचण्डसँग तीन पटक छलफल गरिसकेका छन् ।
नयाँ पार्टी गठन नगरे के गर्ने त ? यो प्रश्नको जवाफमा बाबुरामले माओवादीसँग मिल्ने पहिलो उत्तर पहिल्याएका हुन् । माओवादीमै फर्के पुरानो विरासत फर्कने बाबुरामको विश्वास छ । र, बाबुरामको राजनीतिक जीवनमा यो नै वुद्धिमतापूर्ण निर्णय हुने विश्लेषण पनि हुने गरेको छ ।
कहिलेकहीँ आफ्नै बचनहरु आफ्नै लागि तगारो बन्छन् । बाबुरामका लागि ‘माओवादीमा रिर्टन व्याक’का लागि पनि आफ्नै बचनहरु तगारो बनेका छन् । कम्युनिष्ट आन्दोलनको औचित्य नै समाप्त भएको घोषणा गरेका बाबुरामलाई ‘कुन मुख लिएर माओवादीमै फर्कने’ भन्ने चिन्ता छ । त्यसैले, माओवादी फर्कने उचित वहानाको खोजिमा छन्, बाबुराम । यसै क्रममा जुरेको गज्जबको उपाय हो– समाजवादी केन्द्र ।
०००
प्रचण्डले पनि माओवादी विभाजनको प्रभाव राम्ररी भोगिसकेका छन् । त्यसैले, बारम्बार भनिरहेका छन्– ‘पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्छ ।’
प्रचण्ड पूर्व माओवादीलाई एक ठाउँमा ल्याउन चाहने, बाबुराम माओवादीमै फर्कन चहने । अर्थात, प्रचण्ड–बाबुरामको चाहना मिलेको छ ।
तर, यतिखेर प्रचण्डलाई पूर्व माओवादीको मात्र चिन्ता छैन । एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीसँग पनि एक भएर अघि बढ्ने प्रचण्डको चाहना हो । एकीकृत समाजवादी पनि बलियो कम्युनिष्ट शक्ति बनाएर अघि बढ्ने पक्षमा छ ।
यसरी हेर्दा, माओवादी, एकीकृत समाजवादी र बाबुराम नेतृत्वको समूहबीच एकताको विन्दु ‘समाजवादी केन्द्र’ हुने देखिन्छ । अहिलेको छलफल यसै पेरिफेरि घुमिरहेको छ ।
०००
बाबुरामलाई पार्टीमा ल्याउनका कै लागि मात्र माओवादीले पार्टीको नामबाट ‘माओवादी’ हटाउने अवस्था छैन । माओवादीका लागि माओवादी नाम मात्र नभए जनयुद्धको विस्तृत रुप हो । वर्तमान व्यवस्थाको मानक हो । त्यसैले प्रचण्ड पनि नयाँ उपायको खोजिमा छन् ।
प्रचण्डले राजनीतिक प्रतिवेदनहरुबाट वृहत कम्युनिष्ट एकताको विषयलाई निरन्तरता दिँदै आएका छन् । अब पार्टीमा ‘समाजवादी केन्द्र’ निर्माणको विषयलाई एजेण्डाकै रुपमा अघि बढाउने बुझिन्छ । प्रचण्डले भन्नेछन्– ‘एकीकृत समाजवादीलाई समेत सँगै लिएर जाने सावालमा माओवादी शब्द सान्दर्भीक नहुन सक्छ । सबैलाई अटाउने समाजवादी केन्द्र हुनसक्छ ।’
यसरी, माओवादी र एकीकृत समाजवादी एकता तथा बाबुरामको माओवादीमा कमब्याक सफल हुने देखिन्छ ।