Logo
Logo

वैदेशिक रोजगारमा गएका नेपालीको समस्याबारे श्रममन्त्रीको चासो


504
Shares

काठमाडौं । श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नवनियुक्त राजदूतहरुसंग छलफल गरेका छन् ।

बिहीबार मन्त्रालयमा नवनियुक्त साउदीका राजदूत नवराज सुवेदी र दक्षिण अर्फिकाका राजदूत दानबहादुर तामाङसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारमा जाने नेपालीहरुले पाउने गरेका दुख, समस्याका विषयमा चासो व्यक्त गरेका थिए । उनले राजदूतहरुसँग नेपाली कामदारको कामको ग्यारेन्टी र सुरक्षाका विषयमा विशेष ध्यान दिन आग्रह गरे ।

उनले भने, ‘यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासाहरु धेरै सुनिन्छन् । पठाउने व्यक्ति वा कम्पनीले उनिहरुलाई ठग्ने गरेका कारण विचल्लीमा परेका घटनाहरु आइरहेका छन् । यसबारे विषेश ध्यान दिन आग्रह गर्न चाहन्छु ।’

छलफलका क्रममा उनले कामदारलाई परेको समस्या समाधानका लागि दुतावासलाई चाहिने आवश्यक सहयोगका लागि मन्त्रालय तयार रहेको बताए । उनले विदेशमा नेपाली कामदारहरुको हुने गरेको मृत्युका विषयमा समेत गम्भीर भएर बुझ्न आग्रह गरे ।

मन्त्रालयका सचिव एक नारायण अर्यालले विदेशमा कोमामा र अँगभँग भएर उपचार गराइरहेका नेपाली कामदारहरुको उद्धारका लागि सरकार गम्भीर रहेको र दुतावासहरुले सोहिअनुसार काम गर्नुपर्ने बताए । उनका अनुसार अहिले साउदीमा मात्रै २५ जना नेपाली कामदारहरु कोमामा उपचार्राथ छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले यो आर्थिक वर्षमा मात्रै साउदीमा १ लाख ८८ हजार ३९८ जना नेपालीहरु रोजगारका लागि गएको बताए ।

साउदीमा कामदार पठाउन नेपाल र साउदी सरकारबीच श्रम सम्झौता नभएपनि विभिन्न माध्यमहरुबाट नेपालीहरु साउदी जाने संख्या ठूलो रहेको उनको भनाइ छ ।

छलफलमा बोल्दै साउदीका लागि नवनियुक्त राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताए ।

अवैधानिक रुपमा कामदारहरु जाँदा विभिन्न जटिलताहरु रहेकाले दुबै सरकारबीच श्रम सम्झौता भएकोखण्डमा त्यो न्युनिकरण हुँदै जाने उनले बताए ।

साउदीमा समस्यामा परेका कामदारहरुको उद्धार र राहातका लागि पहल गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । कामदारले पाउने गरेका समस्याहरुको समाधानका लागि मन्त्रालयसंग आवश्यक सुझाव, सल्लाह र सहयोगका लागि सहकार्य गर्ने समेत उनले बताए ।

यस्तै दक्षिण अर्फिकाका लागि नयनियुक्त राजदूत तामाङले दक्षिण अर्फिकामा नेपाली कामदारहरु समस्यामा परेका खबरहरु खासै नआएपनि कामदारहरुका विषयमा आफू सचेत रहेको बताए ।

उनले दक्षिण अर्फिकासंगै केन्या, तान्जेनिया, साउथ अर्फिकामा जेल र अस्पतालमा रहेका नेपालीहरुको उद्धारका लागि पहल गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्