Logo
Logo

सरकार र जनताका बीचमा प्रेसले पुलको काम गर्नुपर्छ : सञ्चारमन्त्री


567
Shares

मकवानपुर ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीको हकहित, सुरक्षा तथा पत्रकारिताको समग्र उन्ननयका लागि सञ्चारकर्मीको पेशागत सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो र सुदृढ बनाउनुपर्ने बताए । उनले भने, ‘सरकार र जनताका बीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ । जनताको आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्छ ।’

उनले आर्थिक समृद्धि हासिल गर्न सरकारले आर्थिक ‘प्याकेज’ र पूर्वाधारको योजना नीति तथा कार्यक्रममार्फत कार्यान्वयन गरिराखेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नागरिकता वितरणलाई सहजीकरण गर्न सरकारले प्रतिनिधिसभामा नयाँ नागरिक विधेयक दर्ता गरेको जानकारी दिए ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मुलुकमा प्रजातन्त्रको रक्षाका लागि प्रेस र अभिव्यक्ति स्वतन्त्रताको जीवन्त राख्न राजनीति दलले आफूलाई सत्ता प्राप्तिको स्तम्भबाट बाहिर निकालेर देश र जनताप्रति उत्तरदायी बहन गर्नुपर्ने बताए । उनले भन्, ‘प्रजातन्त्रलाई गतिशील र प्रेस स्वतन्त्रतालाई सधैँ जीवन्त पार्नुपर्छ ।’

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद सिग्देलले प्रजातन्त्रलाई गतिशील प्रदान गर्न प्रेस स्वतन्त्रता आवश्यक हुने बताए । उनले भने, ‘प्रेस युनियनको नयाँ नेतृत्व चयन गर्न चुनावी प्रतिस्पर्धामा धेरै उम्मेदवार भए पनि निर्वाचनपश्चात सबै सञ्चारकर्मीका बीचमा सहकार्य र एकता हुनु जरुरी रहेको छ ।’

समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले संविधानको मर्मअनुसार प्रेस स्वतन्त्रता र प्रजातन्त्रको संरक्षणका लागि सबै प्रेस सङ्गठन एकढिक्का भई अघि बढ्नुपर्ने बताए ।

प्रेस युनियनको राष्ट्रिय महाधिवेशनबाट भोलि नयाँ नेतृत्वको निर्वाचन हुने र आजै अपराह्नमा महाधिवेशनमा सहभागी प्रतिनिधिले बन्दसत्रमा युनियनको प्रतिवेदन, वार्षिक कार्यक्रम र उम्मेदवारको मनोनयन दर्तासम्बन्धी प्रक्रिया सुरु गरिने युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए। महाधिवेशनमा सातवटै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ९०० मतदाता सहभागी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्