Logo
Logo

प्रदेश १ को नाम किरात राख्न माग गर्दै खोटाङमा प्रदर्शन


630
Shares

खोटाङ । किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात राख्न माग गर्दै प्रदर्शन गरेको छ ।

प्रदेश १ को नामांकन पे चिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेलबजारमा प्रदर्शन गरेको हो । प्रदेश १ को नामकरण किरात गर्नुपर्ने पक्षमा जनदबाब सिर्जनाका लागि र्‍यालीले दिक्तेलबजार परिक्रमा गर्नुका साथै ठाउँठाउँमा कोणसभा गरिएको छ ।

पुरानो बेस क्याम्पमा भएको कोणसभालाई किरात राई खेलकुद संघका केन्द्रीय अध्यक्ष सञ्जयकुमार राई, हाटडाँडामा भएको कोणसभालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा, त्रिवेणीचोकमा भएको कोणसभालाई डा केके राई, भवनगैरामा भएको कोणसभालाई सांस्कृतिक अभियान्ता पर्खनबहादुर राई र यायोक्खाका अध्यक्ष हात्तीराम राईले ‘किरात’ सभ्यता भएकाले सोही आधारमा प्रदेशको नामकरण गर्दा सर्वस्वीकार्य हुने धारणा राखेका छन् ।

किरात राई यायोक्खाको केन्द्रीय कार्यक्रम अनुसार प्रदेश १ को किरात प्रदेश नामांकन गराउन निर्णायक आन्दोलन र दबाबमुलक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईले बताए ।

यायोक्खाले इतिहास, भूगोल, सभ्यता, संस्कृतिको र साझा मनोविज्ञानको आधारमा प्रदेश १ को नामकरण किरात प्रदेश राख्नुपर्ने पक्षमा निरन्तर संघर्ष गर्दैआएको छ । प्रदेश सरकारको पहिलो अवधि समापन हुनै लाग्दा नामांकनको विषयले पुनः तीव्र चर्चा पाएको हो ।

२३ वैशाख २०७६ मा प्रदेश १ को राजधानी विराटनगर तोकिए पनि नामकरण भने हालसम्म अनिश्चित छ । एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषय टुंगो लाग्न नसक्दा प्रदेश नामविहीन छ ।

कतिपय भूगोल र पहिचानलाई मिलाएर, कतिपयले भूगोलको आधारमा र कतिपय पहिचानको आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने अडान राख्दा प्रदेश नामकरण मुद्दा पेचिलो बनेको हो ।

प्रतिक्रिया दिनुहोस्