काठमाडौं । मिस युनिभर्स नेपाल–२०२२ को चयन सुरु भएको छ । यो प्रतियोगितामा पहिलो चरणमा विभिन्न ३९ जना प्रतिस्पर्धी चयन भएका छन् । उनीहरु सबै अनलाइन अडिसनबाट चयन भएका हुन् ।
जसमा डक्टर आयुष्नोभा ढुंगाना पनि चयन भएकी छन् । यी ३९ जनामा बहुसंख्यक प्रतियोगीहरु मोडल छन् । केही नयाँ अनुहार पनि छन् । मोडलिङमा डक्टर आयुष्नोभा ढुंगाना पनि नयाँ अनुहार हुन् । तर, उनीसँग आफ्नो क्षेत्रको विज्ञता छ ।
आयुष्नोभाले गत वर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबीबीएस गरेकी हुन् । बंगलादेशबाट पढाई सकेर नेपाल फर्किएकी डा. आयुष्नोभा अहिले नेपालमै विरामीहरुको सेवा गरिरहेकी छन् ।
हाल काठमाडौंमा रहेर छालारोग सम्बन्धी सेवा दिइरहेकी उनी मिस युनिभर्स नेपाल २०२२ पछि काठमाडौंबाट केही दुर्गम ठाउँमा गएर आफ्नो सेवा दिने योजनामा छिन् ।
छाला भनेको मानिसमा झट्ट हेर्दा पहिलो नजरमै देखिने तत्व भएकाले यसलाई महत्व दिएर आफु छाला रोगको चिकित्सक बनेको पनि यी सुन्दरीले बताएकी छिन् ।
यसपटक उनी सबैका लागि स्वास्थ्य भन्ने नारासहित मिस युनिभर्स नेपाल २०२२ मा सहभागी भएकी छन्, ‘एउटा डक्टरले बिरामीलाई त निरन्तर सेवा दिएकै हुन्छ । डक्टरले मिस युनिभर्स नेपाल भएर मिस युनिभर्समा गई नेपाललाई चिनाउन सक्छ भन्ने उदाहरण बन्न चाहन्छ’ उनले भनिन् ।
नग्मा श्रेष्ठले मिस युनिभर्समा पहिलोपटक नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । गत वर्ष यो उपाधि सुजिता बस्नेतले जितेकी थिइन् । अग्रजहरुको कामलाई मूल्याँकन गरेर मिस युनिभर्स नेपाल हुँदै मिस युनिभर्समा गएर कसरी राम्रो गर्न सकिन्छ भनेर यतिबेला आफु मिस युनिभर्स नेपालको तयारीमा व्यस्त रहेको आयुष्नोभाले बताएकी छन् ।
उनकी आमा रोशनी केसी फिल्म निर्माता तथा नायिका हुन् । बुबा अँगद ढुँगाना व्यबसायी हुन् । दुबैको प्रेरणाले आफु मिस युनिभर्स नेपालमा सहभागी भएको आयुष्नोभाले बताएकी छिन् ।
मिस युनिभर्स नेपालको अघिल्लो चरणमा उत्कृष्ट २० जना चयन हुनेछन् । ती २० जना नै फाईनलमा उत्रने छन् । त्यसपछि उत्कृष्ट १० हुँदै मिस युनिभर्स नेपाल चयन हुनेछ । ती उत्कृष्ट २० लाई प्रत्यक्ष रुपमा प्रसान्त ताम्राकारले कोरियोग्राफी गर्नेछन् । आगामी १९ अगष्ट चयन हुने मिस युनिभर्स नेपालमा ताज नै जित्ने लक्ष्य सहित आफु प्रस्तुत हुने आयुष्नोभाको कथन छ ।
डाक्टर आयुष्नोभाको कथनमा नेपालमा मिस युनिभर्स, मिस वल्र्ड नेपाललाई राज्यले सहयोग गरेको छैन । प्रतियोगी नारीले अन्तराष्ट्रिय प्लेटफर्ममा गएर नेपाललाई चिनाउनेहुँदा नेपाली प्रतियोगीहरुलाई राज्यले सघाउनु पर्ने, हौसला दिनुपर्ने सुझाब आयुष्नोभाको रहेको छ ।