काठमाडौं । प्रतिस्पर्धी कम्पनीको ‘प्रोक्सी एजेन्सी’लाई पिक सिजनमै नेपाल वायुसेवा निगमको ट्वीनेटर जहाज चार्टर्ड अनुमति दिएर आफ्नो उडान नभरी मिलेमतोमा लाखौं नोक्सानी पारिएको खुलेको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र कमर्सियल डाइरेक्टर जनकराज कालाखेतीले समिट एयरका सन्चालकको ‘प्रोक्सी एजेन्सी’सँग पोखरा–जोमसोम–पोखरा र काठमाडौं–लुक्ला–काठमाडौंलगायतका रुटमा चार्टर्ड सम्झौता गर्दा निगमलाई घाटा भएको पाइएको हो ।
निगमका अध्यक्ष अधिकारीमाथि छानबिन गर्न गठिन समितिले पर्यटकीय गन्तव्यमा पिक सिजनका बेला ‘प्रोक्सी एजेन्सी’मार्फत चार्टर्ड उडान गर्दा निगमलाई घाटामा पारिएको ठहर गरेको छ ।
यसै वर्षको मार्च महिनादेखि निगम र शुभ टुर्स एण्ड ट्राभल्स प्रालिबीच विभिन्न जिल्लामा चार्टर्ड उडान भर्ने सम्झौता भएको थियो । उक्त सम्झौतामा निगमको तर्फबाट वाणिज्य विभागका प्रमुख जनकराज कालाखेती र शुभ ट्राभल्सका तर्फबाट निर्देशक सन्जिमा शर्माले हस्ताक्षर गरेका छन् । शुभ ट्राभल्स समिट एयरको ‘प्रोक्सी एजेन्सी’ हो । सन्जिमा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीको स्वकीय सचिव हुन् ।
यस्तै, पिक महिना मार्च, अप्रिल र मेमा पोखरा–जोमसोम–पोखरा उडान निगमले आफैं भर्न सक्ने भएपनि प्रोक्सी एजेन्सीमार्फत चार्टर्ड गरेको देखिएको छ भने काठमाडौंबाट पोखरा पुगेको र पोखराबाट काठमाडौं फर्किएको खर्चसमेत निगमले व्यहोरेको पाइएको छ ।
विमान चार्टर्ड गर्ने बेला प्रचलित चार्ज १७३० डलर हुनुपर्नेमा १३१० प्रति ब्लक आवरमा सम्झौता गरेको बताइएको छ ।
यस्तै, तेल चार्जको हिसाबले विमानको चार्टर्डमा मात्र निगमलाई १७ हजार डलरभन्दा बढी घाटा भएको छ । यसबाहेक उडान कर्मचारीको खर्च र काठमाडौंबाट पोखरा र पोखरा–काठमाडौं दैनिक विमान आवत–जावतको खर्चसमेत निगमले भरेको पाइएककको छ ।
गत ३ मे २०२२ देखि लागू भएको चार्टर्ड सम्झौता मे महिनासम्म लागू हुने भनिएपनि स्थानीय तह निर्वाचनका कारण निगमले केही अगाडि सम्झौता रद्द गरेको थियो । तर, सम्झौता रद्द गर्नअघि चैत मसान्तसम्म शुभ ट्राभल्सले पोखरा–जोमसोम–पोखरा करिब ३३ घण्टा चार्टर्डड उडान गरेको देखिएको छ ।
काठमाडौं–लुक्ला–काठमाडौं ४ घण्टा र पोखरा–भैरहवा–पोखरासमेत गरी जम्मा ३८ घण्टा चार्टड्ड उडान गरेबापत निगमलाई ५० हजार २१७ डलर तिरेको थियो ।