Logo
Logo

समाजवादी मोर्चा बनाउने कसरत, एक्लिने डरले छटपटीमा कांग्रेस


63.7k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन सफल भएको गठबन्धनमा आवद्ध पाँच दलको आधारभूत निष्कर्ष थियो । तर, कांग्रेस बाहेकका दललाई गठबन्धन खासै चित्त बुझेको थिएन, छैन ।

गठबन्धनलाई निरन्तरता दिनुपर्ने मान्यता र बाध्यताका कारण मात्र कांग्रेस बाहेकका दलले आधिकारिक रुपमा गठबन्धनबाट केही फाइदा भएन, अब गठबन्धन नगरौं भन्न नसकेका हुन् । तर, कांग्रेस बाहेकका दलको आन्तरिक निष्कर्ष– गठबन्धनबाट कांग्रेसलाई मात्र फाइदा भयो, अब कांग्रेससँग गठबन्धन नगरौं भन्ने हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा पुनः कांग्रेसबाट धोका हुनसक्ने बुझाइसहित गठबन्धनका अन्य दलले गठबन्धनको निरन्तरतामै प्रश्न उठाउन थालेका छन् ।

त्यसो त, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन लगत्तै गठबन्धनबाट कांग्रेस र नेकपा माओवादी केन्द्रलाई मात्र फाइदा पुगेको धारणा सार्वजनिक गरेका थिए । माओवादीले पनि घुमाउरो भाषामा ‘कांग्रेसलाई मात्र फाइदा भयो’ भनेको थियो ।

संघ र प्रदेशको निर्वाचनमा गठबन्धन कसरी अघि बढ्ने भन्ने सन्दर्भमा गठबन्धन आवद्ध दलबीच छलफल सुरु भएको छ । छलफलमा कांग्रेसले कम्तिमा सय सिट आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । कांग्रेसको अडानबाट अन्य दल सन्तुष्ट छैनन् ।

कांग्रेसले स्थानीय तह निर्वाचन जस्तै आफूले धेरै राख्ने र अरुलाई थोरै दिने अडान लिएपछि अन्य दल आगामी निर्वाचनका लागि ‘समाजवादी मोर्चा’ बनाउने प्रयासमा जुटेको बुझिन्छ । यो गठबन्धनमा मुलत, माओवादी, एकीकृत समाजवादी, जसपा, नेकपा एकता अभियान, डा. बाबुराम भट्टराईले नेतृत्व गरेको पूर्व जसपा समूह र अन्य दललाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ ।

कांग्रेसको हेपाहा प्रवृत्तिका कारण कांग्रेससँग सहकार्यले निरन्तरता पाउन नसक्ने बाँकी चार दलको निष्कर्ष हो । यसै निष्कर्षको आधारमा बाँकी चार दलका नेताको अभिव्यक्ति सार्वजनिक हुन थालेको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पत्रकारलाई दिएको प्रतिकृयाले कांग्रेस इतर गठबन्धन वा मोर्चा निर्माण गर्ने प्रयास भइरहेको संकेत गर्छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले आगामी निर्वाचनमा वामपन्थी र समाजवादी शक्तिहरूको एउटै मोर्चा बनाएर जानुपर्ने प्रतिकृया दिए । यसका लागि दुई पटक छलफल भइसकेको र छलफलको क्रम जारी रहेको उनको भनाइ थियो ।

तत्कालीन आवश्यकता पाँच दलीय गठबन्धनको भए पनि दीर्घकालीन आवश्यकता भने वाम एकता रहेकाले त्यसको आधार तय गर्न निर्वाचनमा मोर्चा बनाएर अघि बढ्नेतर्फ उन्मुख रहेको उनको भनाइ छ ।

तुलनात्मक रुपमा पाँच दलीय गठबन्धनबाट फाइदा लिएको नेकपा माओवादी केन्द्र पनि कांग्रेस बाहेकको मोर्चा वा गठबन्धनतर्फ उन्मुख रहेको बुझिन्छ ।

आइतबार नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले संसदीय निर्वाचनमा देशभर समाजवादी मोर्चाका उम्मेदवार हुने बताएका छन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी मोर्चा बनाउने सहमति भइसकेको भन्दै नेता पुनले मोर्चा बनाएर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी रहेको बताएका हुन् ।

त्यति मात्र होइन, नेता पुनले परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्ने र प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्ने समेत बताए । यसले वर्तमान सत्ता गठबन्धनले निरन्तरता नपाउने संकेत गर्छ ।

के गर्ला एमालेले ?
सम्मानित नेता खनाल र नेता पुनको धारणालाई आधार मान्ने हो भने अब वर्तमान सत्ता गठबन्धनले निरन्तरता नपाउने बुझिन्छ । त्यस्तो अवस्थामा माओवादी, एकीकृत समाजवादी, जसपा, नेकपा एकता अभियान र बाबुराम समूहबीच मोर्चा बन्ने देखिन्छ । यस्तो अवस्थामा एमालेले के गर्ला भन्ने अन्योलमा छ ।

सम्मानित नेता खनालले एमालेलाई पनि समाजवादी मोर्चामा लैजानुपर्ने धारणा राखेका छन् । पछिल्लो समय खनाल नेकपा एमालेसँग नजिक देखिन्छ । खनालकै बलमा जिल्ला समन्वय समिति इलामको निर्वाचनमा एमाले र एकीकृत समाजवादीबीच तालमेल भएको थियो ।

अहिले आफूहरूको ध्यान कांग्रेससँग गठबन्धन बलियो बनाउनेभन्दा पनि समाजवादी केन्द्र निर्माण गर्नेमै रहेको बताएका नेता पुनले भने एमालेलाई मोर्चामा ल्याउने या नल्याउनेबारे केही बोलेनन् । उनले भने– ‘एमाले कता जाने भन्ने उसले निर्णय गर्ने कुरा हो ।’

नेकपा एमालेका नेताहरुले पनि कांग्रेससँगको वर्तमान गठबन्धन छोडे बाँकी दलसँग निर्वाचनमा सहकार्य गर्न सकिने भन्दै आएका छन् । तर, एमालेले के गर्छ ? भन्ने प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीले गर्ने निर्णयमा निर्भर रहन्छ ।

एमालेका अन्य नेताले बोल्दैमा वर्तमान गठबन्धन टुटे पनि एमाले मोर्चामा आवद्ध हुन्छ भन्न सक्ने अवस्था रहँदैन । किनकी, एमालेमा अध्यक्ष ओली बाहेकले बोलेका कुरा खासै कार्यान्वयन हुँदैन ।

एक्लिने डरले छटपटिमा कांग्रेस
वर्तमान गठबन्धनमा आवद्ध अन्य दलले अर्को मोर्चा बनाउने तयारी थालेपछि कांग्रेसमा भने छटपटी सुरु भएको छ । कांग्रेसलाई दोहोरो चिन्ता छ ।

वर्तमान गठबन्धन टुटे कांग्रेसलाई नै धेरै घाटा हुने देखिन्छ । यस्तो अवस्थामा कांग्रेस पहिलो पार्टी बन्न सक्दैन । अञ्जानमा एमाले पनि समाजवादी मोर्चामा सामेल भएको अवस्थामा कांग्रेस दोस्रो पार्टी पनि नहुने अवस्था बन्न सक्छ । त्यसैले कांग्रेस दोहोरो चिन्तामा परेको हो ।

त्यसो त कांग्रेसभित्र सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । देउवाले सार्वजनिक कार्यक्रमहरुमै भन्ने गरेका छन्– ‘गठबन्धन नगरे पार्टी २०७४ कै अवस्थामा पुग्छ । कम्युनिष्टहरु मिले भने फेरि हराउँछन् । त्यसैले, गठबन्धन गर्नुको विकल्प छैन ।’

देउवा गठबन्धनप्रति लालायित देखिए पनि कांग्रेसका शेखर कोइराला लगायतका नेता गठबन्धन गर्न नहुने पक्षमा छन् ।

कांग्रेसमा पनि सभापति देउवाको निर्णय नै अन्तिम हुन्छ । पहिलो पार्टी बन्ने क्रममा गठबन्धन भत्काउनु हुन्न भन्ने पक्षमा देउवाले अडान लिएर सिट बाँडफाँटमा केही चलकता अपनाउन पार्टीका नेतालाई सहमत गराएर गठबन्धन जोगाउने प्रयत्न गर्नसक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्