कोही सच्चा वामपन्थी भए ऊसँग सहकार्य गरेर जान सकिने आशयको भनाइ एमाले अध्यक्ष खड्गप्रसाद ओलीले राखेपछि मेरा मनमा प्रश्नहरुको ताँती लागेर आयो । ओलीले वास्तवमा बडो गम्भीर प्रश्न गरे, के यो मुलुकमा कोही सच्चा वामपन्थी छ त ?
यो गम्भीर प्रश्न ओली आफैँले आफैँलाई गरेका त होइनन् ? मलाई लाग्दछ, पहिला त उनले स्वयंलाई सोध्न जरुरी छ, के म वास्तवमै वामपन्थी हुँ ? के मैले कम्युनिष्ट पद्धति र आचरणको पूर्णतः पालन गरेको छु ? र यो प्रश्न कम्युनिष्ट पार्टीका नाममा पसल चलाइरहेका सबैलाई हो ।
एउटा सत्य के हो भने, नेपालजस्तो मुलुकमा कम्युनिष्ट पार्टीका यति धेरै पसल आवश्यक छैन । जनजीविकाका लागि लडेको हो भने मिलेर गए हुन्छ, नभए जनताका आँखामा छारो हाल्ने खुद्रा पसल बन्द गरे हुन्छ ।
पञ्चायती राजशाहीविरुद्ध लड्ने बेलाका कम्युनिष्टहरु भिन्दै थिए । पाल्पाले २०१५ सालमै कम्युनिष्ट नेता कमलराज रेग्मीलाई जिताएको थियो । यो समाजको आमूल परिवर्तन केवल कम्युनिष्टहरुबाट मात्र सम्भव छ भन्ने उतिबेलाको सामन्तवादी समाजमा विद्रोहको मसाल समाएका मेरा पिताजीहरुलाई लागेको थियो ।
८४ पुग्न आँटेका मेरा पिताजी सिंगो परिवर्तनको साक्षी हुनुहुन्छ । तर, नाति पुस्तासम्म आइपुग्दा नातिलाई बाजेको कुरामा रत्तिभर विश्वास छैन । बाजेलाई थाहा छ, हिजोको निःस्वार्थ राजनीति अब पैसामा परिणत भएको छ ।
के ओली स्वयं वामपन्थी हुन् ? वामपन्थी भनेका सबै ओलीजस्तै हुन् ? पक्कै होइन, वामपन्थी भनेको सच्चा देशभक्त, इमान्दार, नैतिकवान र पार्टी विधि विधानप्रति प्रतिबद्ध व्यक्ति वा नेतामात्रै सच्चा वामपन्थी हुन सक्छन् ।
सबैको लागि कमाउने माध्यम बनेको छ, राजनीति । राजनीति राजनीति रहेन, धन्दा भयो । यो धन्दामा लालेपछि कम्युनिष्ट लाल टोपीवालाको अनुहार गन्धा भयो ।
कतिपय ठाउँमा कांग्रेस बरु सग्ला छन्, खाने मामलामा कम्युनिष्टहरुले कांग्रेसलाई पनि माथ गरिसके । निर्वाचन जितेर २५ वर्षसम्म एकछत्र शासन गर्नेहरु जनतालाई मृत्युको मुखमा हिँड्ने बाटो सिद्धबाबा (बुटवल–पाल्पा राजमार्ग)को एउटा ढुंगा सार्ने काम नगरे पनि जनतालाई खासै फरक परेको छैन ।
मानिस यो घोर अव्यवस्थामा बाँच्न अभ्यस्त भइसकेका छन् । दलभित्र आफ्नो अहंकार पूरा नभएर संसद् विघटन गरेको कुरालाई सदर गर्न मुलुक फेर्न हिँडेकाहरुले जोरजुलुमसँग चिच्याएको देखियो ।
कवि, लेखकहरु पनि पद र प्रतिष्ठाको लालचमा ओलीको गलत कदमलाई सही थामेको देखियो । आफूप्रति असहमतहरुलाई ओलीले कसरी भित्तामा पुर्याउँछन् भन्ने राम्रो हिसाब सबैसँग छ । त्यसैले बिरालोको घाँटीमा घण्टी बाँध्नेहरुसँगै बस्न सक्ने स्थिति भएन ।
आफूले वडा तहसम्म गुटको राजनीति गरेर इमान्दारलाई भित्तामा पुर्याएर केवल आफ्नो गुटका अवसर दिने तपाईं के वामपन्थी नै हो ?
जनताको अपार प्रेम र आशाका साथ स्थायी सरकारको अपेक्षा गर्दै मुलुकमा वामपन्थी सरकारको आशले दिएको दुईतिहाइ निकट मतको अपमान गर्ने, संगठनको जीवनका आफ्ना सहकर्मीहरुमाथि छुद्र टिप्पणी गर्ने यो कस्तो वामपन्थी चरित्र हो ?
आफूले कमल थापाजस्ता मण्डलेसँग गठजोड गरे पनि ठीक, संसद् भंग गरे पनि ठीक, बाँकी सब खराब भन्ने चरित्र वामपन्थी हो र ?
मदन भण्डारीले संसद्को सम्प्रभुतालाई सधैँ पहिलो प्राथमिकता राख्नुभएको थियो, भण्डारीका अनुयायी दाबी गर्ने तपाईँले संसद् विघटन गलत थियो भनेर किन स्वीकार नगर्ने ? वामपन्थको लाइनबाट एमालेलाई धेरै पर पुर्याउने काम स्वयं अध्यक्ष खड्गप्रसाद ओलीबाट भएको छ ।
ओलीको अहंकार यथावतै छ । म मात्रै ठीक, बाँकी सब बेठिक भन्ने लयमा उनी छन् । एजेण्डागत हिसाबले मुलुक परिवर्तनका एजेण्डामा उनी असन्तुष्ट छन् ।
त्यसैले निर्वाचनको मुखमा धर्म निरपेक्षता, संघीयता, समावेशी समाजविरुद्ध उनले आफ्ना भक्तहरुमार्फत पपुलर भोट आकर्षणका लागि बोल्न लगाइरहेका छन् । राजावादी राप्रपा र ओलीको एजेण्डा एकै देखिएको छ ।
अब प्रश्न उठ्छ, के ओली स्वयं वामपन्थी हुन् ? वामपन्थी भनेका सबै ओलीजस्तै हुन् ? पक्कै होइन, वामपन्थी भनेको सच्चा देशभक्त, इमान्दार, नैतिकवान र पार्टी विधि विधानप्रति प्रतिबद्ध व्यक्ति वा नेतामात्रै सच्चा वामपन्थी हुन सक्छन् । सच्चा वामपन्थी नेपालमा धेरै छन् ।
– मदनपोखरा पाल्पा