कलकत्ताको श्यामबजारस्थित नवीन गाल्लीको एउट वंगालीको घरमा लेनिनको जन्म जयन्तीलालाई अवसर पारेर २००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९)का दिन ‘नेपाल कम्युनिष्ट पार्टी’ स्थापना भयो । त्यसको नेतृत्व क.पुष्पलाल श्रेष्ठले गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी गठन भएको २ दिनपछि वैशाख १२ गतेको बैठकले क.पुष्पलाललाई महासचिव निर्वाचित गर्यो । क. निरञ्जन गोविन्द वैद्य, क. नरवहादुर कर्माचार्य, क. नारायण विलास जोशी र क. मोतिदेवी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक थिए ।
नेपाल कम्युनिष्ट पार्टी गठनको चार महिनापछि २००६ भदौं ३० गते नेकपा गठनको औपचारिक जानकारी गराइयो । औपचारिक घोषणा गर्दा केन्द्रीय कमिटीमा क. पुष्पलाल श्रेष्ठको नेतृत्वमा मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारी र अयोध्या सिंह मात्र थिए । उक्त कमिटीमा महासचिव क. पुष्पलाल नै थिए ।
स्थापनको ५ महिना अर्थात भदौं ३० गतेसम्म आइपुग्दा कलकत्ताको श्यामबजारमा गठन गर्दाका संस्थापक रहेका बाँकी नेतृत्वको नाम छुट्यो । पुष्पलाल बहेक अन्य संस्थापकको नाम कसरी हट्यो भन्ने आजसम्म पनि ठोस कारण र प्रमाण कसैले पेस गर्न सकेका छैनन् । यस घटनाले कम्युनिष्ट पार्टी स्थापनादेखि नै विवादको शिकार हुनु पुगेको देखाउँछ ।
२००८ साल असारमा नेकपाको पहिलो सम्मेलन कलकत्तामै भयो । पहिलो सम्मेलनबाटै पार्टी विवादको सिकार हुन पुगेको देखिन्छ । पहिलो सम्मेलनमा क. पुष्पलालले पार्टीभित्र संसोधनवाद प्रवेश भएको भनेका थिए । यसैलाई नेकपा भित्रको पहिलो ‘सैद्धान्तिक वहस’ भनिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा सुरुवातदेखि नै विभाजनको इतिहास छ । आन्दोलन विभाजित हुँदा आन्दोलनले उठाएका मुद्दाहरु अझै अलपत्र छन् । अझै पनि नेतृत्व नसच्चिने हो भने आन्दोलनको अवसान टाढा छैन ।
गणतन्त्र र संवैधानिक राजतन्त्र नेकपाभित्र आन्तरिक संघर्षको विषय बन्यो । क. पुष्पलाल गणतन्त्रको पक्षमा उभिँदा क. मनमोहन अधिकारी राजतन्त्रको पक्षमा उभिए । गणतन्त्रको पक्षमा उभिएका क. पुष्पलाललाई महासचिवबाट हटाइयो । यसले पार्टी भित्र संसोधनवाद प्रवेश गरेको पुष्टी गर्यो ।
यसरी हेर्दा नेकपामा स्थापनाकालदेखि नै विवाद, अस्पष्टता र छलकपटबाट प्रारम्भ भएको देखिन्छ । कम्युनिष्ट पार्टीभित्र नेतृत्वको गलत प्रवृत्ति र विवादका अनेक स्वरुप सात दशकसम्म यथावत छ ।
०००
इतिहासको जगमा वर्तमान उभिएको हुन्छ । वर्तमानले भविष्य निमार्ण गर्छ । आजका कम्युनिष्ट नेतृत्वमा आएको वैचारिक विचलन र सैद्धान्तिक अकर्मण्यताले कम्युनिष्ट आन्दोलनलाई सही दिशावोध गर्दैन भन्ने प्रष्ट छ ।
स्थापनाको ४ वर्षपछि २०१० सालमा पार्टीको पहिलो अधिवेशन भयो । क. मनमोहन अधिकारीले २००६ सालमा नेकपाले जारी गरेको प्रथम घोषणापात्रमा संसोधनको प्रस्ताव राखे । संसोधन गरेर गणतन्त्रवादी घोषणापत्रलाई असफल बनाए । राजतन्त्र स्वीकार गरे ।
२०१० सालमा मनमोहनले पारित गरेको सुधारवादी लाइन नै २०४७ सालमा गठन भएको नेकपा (एमाले)को लाइन बन्यो । जुन लाइनको नेतृत्व आजसम्म पनि कुनै न कुनै रुपमा एमालेले नेतृत्व गरिरहेको छ ।
२०१० सालमा मनमोहनले पारित गरेको दस्तावेजको मूल सार सुधारवाद थियो । मनमोहनले नेकपालाई राजतन्त्र र संसदीय अभ्यासको पक्षमा अगाडि बढाए । मनमोहनको त्यहि संसोधनवादी लाइनका कारण केशरजंग रायमाझी प्रवृत्तिहरुको जन्म भयो ।
दोस्रो महाधिवेसनबाट दरवारको दानापानी रमाइरहेका केशजंग रायमाझी महासचिव बने । परिणाम स्वरुप २०१९ सालमा नेकपाले पहिलो पटक विभाजनको दुःखद परिणाम सामना गर्नुपर्यो ।
२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि निर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई जेल हाल्दा कम्युनिष्ट पार्टीका महासचिव केशरजंग निरङ्कुशताको पक्षमा उभिए, राजाको ‘कू’ खुलेरै स्वागत गरे । नेकपा विभाजनको कारण यो नै थियो ।
महासचिव निरङ्कुशताको पक्षमा उभिएको बेला क. पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाला अमात्य र मनमोहन अधिकारी विपक्षमा उभिए । पुष्पलाल, तुलसीलाल, मोहनविक्रम र मनमोहनहरुमा पनि विभाजनका श्रृखलाहरु एकपछि अर्को गर्दै देखापर्दै गयो । २०२३ सालसम्म आइपुग्दा नेपालमा कम्युनिष्ट पार्टीहरु लगभग अवसानको विन्दुमा पुगे ।
दक्षिणपन्थी संसोधनवाद, व्यक्तिवादी अवसरवाद, अस्पष्टतावादी पतनवाद र दलाल सामन्तवादी परस्तवाद कम्युनिष्ट पार्टी विभाजनका कारण थिए । आजसम्म नेपालका कम्युनिष्ट पार्टी प्रस्तुत कारणहरुबाटै ग्रसित छन् ।
०००
कम्युनिष्ट आन्दोलन अवसानको विन्दुमा पुगेकै बेला ‘पूर्व मेचीकोशी प्रान्तिय कमिटी’ गठन भयो । केशरजंग रायमाझीको समूहमा पनि विभाजन आयो । एक वर्षपछि क. पुष्पलालले नेकपाको तेस्रो महाधिवेशन गरे । त्यो पनि २०२५ सालमा विभाजित भयो । शीर्ष नेताहरु तुलसीलाल र पुष्पलाल छुटिए ।
२०२८ सालसम्म आइपुग्दा नेपाली कम्युनिष्ट आन्दोलनमा दुई वटा धार प्रष्ट देखा पर्यो । एउटा, झापा जिल्ला कमिटी र अर्को केन्द्रीय न्यूक्ब्लियस थियो । झापा कमिटीलाई नेतृत्व गर्दै सीपी मैनालीले झापा आन्दोलन गरे । मोहनविक्रम सिंहले पञ्चायत, भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध आन्दोलनको नेतृत्व गरे ।
२०२८ साल यता यी दुई समूहले पनि दर्जनौ विभाजनका अनुभव गरे । २०२८ सालदेखि सुरु भएको वैचारिक र सैद्धान्तिक धुव्रीकरण झण्डै ५० वर्षसम्म रहयो ।
२०३१ सालमा मोहनविक्रम र निर्मल लामाको नेतृत्वमा चौँथो महाधिवेशन सम्पन्न भयो । चौँथो महाधिवेशनले नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि सशस्त्र संघर्ष गर्ने प्रस्ताव पारित गर्यो ।
२०३५ सालमा जनवादी क्रान्ति, पुँजीवादी क्रान्ति, सर्वहारा वर्गको अधिनायकत्व, जनताको जनवादी गणतन्त्रको नारासहित नेकपा (माले) गठन भयो । २०३६ सालमा मनमोहन अधिकारीले नेकपा (मनमोहन समूह) गठन गरे । यो समूहले रणनीतिको रुपमा ‘नयाँ जनवादी गणतन्त्र’ र कार्यनीतिको रुपमा ‘प्रजातन्त्रको पुनः स्थापनाका लागि जनमत संग्रहमा बहुदललाई भोट’ नीति अघि सार्यो ।
२०४२ सालमा मनमोहनकै नेतृत्वमा ‘नेकपा माक्र्सवादी’ गठन भयो । महासचिव मनमोहन अधिकारी, सचिव सहाना प्रधान र बलराम उपाध्यायसँगै भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, कमल कोइराला, केशरमणि पोखरेल, बोधराज काफ्ले, माधव ज्ञवाली, शरणविक्रम मल्ल, तिलक पराजुली, एकराज पाण्डे, रामसिहं रावल, रामबहादुर भण्डारी, वीर्णबहादुर कार्की, समीर यादव, दुखीलाल चौधरी, भीम सेडाई, महेश्व शाह आदि सदस्य भए ।
२०४७ सालको पुषमा नेकपा माक्र्सवादी र नेकपा मालेको संयुक्त भेलाले ‘नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी–लेलिनवादी) अथार्त नेकपा (एमाले) जन्मायो । त्यसभन्दा अगाडि २०४६ सालको जनआन्दोलनमा तुलसीलालको अध्यक्षतामा बसेको बैठकले ‘संयुक्त वाममोर्चा’ गठन गरेको थियो । सहाना प्रधानको अध्यक्षतामा गठित उक्त मोर्चामा २१ जना सदस्य थिए ।
०००
२०४६ सालपछि पनि नेपाली कम्युनिष्ट आन्दोलनमा अनेकौ विभाजनको इतिहास छ । २०५४ सालमा नेकपा एमाले विभाजन भयो । २०५८ सालपछि नेपाली कम्युनिष्ट आन्दोलनमा माओवादी धार बलियो रुपमा प्रस्तुत भयो । माओवादी आन्दोलनको इतिहास पनि विभाजनै विभाजनले भरिएको छ ।
नेकपा चौमबाट सुरु भएको फुटको पहिरो २०७९ सालसम्म पनि रोकिएन । पुष्पलाल, निर्मला लामा, मोहनविक्रम, मोहन वैद्य, हुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म आइपुग्दा माओवादी आन्दोलनभित्र ठूला–साना अनेकौं विभाजन भए ।
क्रान्तिको चरित्र, वर्ग संघर्ष र समाज परिवर्तनका विषेशताहरुलाई नेतृत्वले ठीक ढंगले बुझन नसक्दा समाजको परिवर्तनका मुख्य सम्भावनाहरु अलपत्र पर्छन् ।
२०५२ साल फागुन १ गतेबाट दीर्धकालीन जनयुद्धको बाटो तय गरी प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पार्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढ्दै, आधार इलाका निर्माण गर्दै जनमुक्ति सेनालाई शसक्त पार्दै अघि बढ्यो माओवादी आन्दोलन ।
यसक्रममा हजारौं शहीद भए, हजारौं वेपत्ता भए, हजारौं घाइते–अपाङ्ग छन् । जनयुद्ध सुरु भएको १० वर्षपुग्दा नपुग्दै जनयुद्धदाई निरन्तरता दिने या नदिने भन्ने बहस प्रारम्भ भयो । ऐतिहासिक निर्णयका लागि २०६२ सालको असोजमा चुनवाङ प्लेनम सम्पन्न भयो ।
चुनवाङ प्लेनमले शान्तिपूर्ण राजनीतिको बाटो रोज्यो । सात राजनीतिक दलसँग १२ बुँदे सम्झौता भयो । शान्तिपूर्ण राजनीतिबाट निरङ्कुश राजतन्त्र अन्त्य गर्ने, पूर्ण लोकतन्त्र स्थापना गर्ने, शान्ति स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्धाहरुलाई सम्बोधन गर्ने, सबै खाले वर्गीय, जातिय, क्षेत्रिय र लिङ्गीय समास्याहरुको समाधान गर्दै राज्यको अग्रगामी पुनःसंरचना गरी पुर्ण लोकतन्त्रको अवधारणलाई कार्यान्वयन गर्ने समझदारी भयो ।
१२ बुँदै सम्झौताकै जगमा निरङ्कुश राजतन्त्रविरुद्ध देशव्यापी आन्दोलनको आधिवेरी सृजना भयो । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा २४० वर्षे सामन्ती निरङ्कुश राजतन्त्रको अवसान भयो ।
२०६४ साल चैत्र २८ गते संविधान सभाको निर्वाचन सम्पन्न भयो । माओवादी सबैभन्दा ठूलो पार्टी भयो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड भए ।
पहिलो संविधानसभावाट सविधान निर्माण हुन सकेन । दोस्रो संविधान सभाको निर्वाचन २०७० मंसिर ४ मा सम्पन्न भयो । २०७२ असोज ३ गते संविधान सभाद्धारा नेपालको संविधान जारी भयो ।
त्यसबिचमा पनि कम्युनिष्ट पार्टीहरुमा राजनीतिक आरोह तथा अवरोह कायमै रह्यो । २०७५ जेष्ठ ३ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता हुँदा २०१९ सालमा छुटिएका दुई धार एक ठाउँमा आए ।
करिव ६ दशकमा एक भएका कम्युष्टि एक रहन सकेनन् । तीन वर्ष पार गर्दा नगर्दै फेरी २०७५ जेष्ठ ३ को मिलनले २०१९ सालको दोस्रो रुप लियो । नेकपा विभाजन भयो । पुनः माओवादी र एमाले ब्यँुतिए ।
०००
प्रस्तुत घटनाक्रमहरुले नेपाल कम्युनिष्ट पार्टी स्थापनको सात दशकमा के–के भयो भन्ने प्रष्ट हुन्छ । साम्राज्यवादले कम्युनिष्ट पार्टीको घोषणापात्रले अघि सारेका मान्यताविरुद्ध कसरी एकिकृत शक्ति प्रयोग गर्यो र गरिरहेको छ भन्ने बुझ्न समस्या हुँदैन ।
इतिहास हेर्दा ठूला–ठूला परिवर्तनका मुख्य व्यक्ति कम्युनिष्ट नै छन् । तर, नेतृत्व संशोधनवादी मनोविज्ञानबाट ग्रस्त हुँदा कम्युनिष्ट आन्दोलनको वर्तमान र भविष्य संकटउन्मुख देखिन्छ । यसले नेपाली समाज र सिङ्गो कम्युनिष्ट आन्दोलनको भविष्य के र कस्तो होला ? भन्ने चिन्ता उत्पन्न हुन्छ ।
०००
क्रान्तिको बाटो भुलेकाहरुलाई परिस्थितीले ठीक दिशामा ल्याउन सक्छ । इमानदार कम्युनिष्ट कार्यकर्ताले गलत बाटो रोजेका नेतृत्वलाई सही बाटोमा ल्याएको अनेकौ इतिहास छन् ।
आन्दोलनका क्रममा नेतृत्व विचलित हुने क्रम अझै रहन्छ । तर, यस्त घटनाहरुले क्रान्तिकारीहरुको चेतनाको आँखा खुल्दै जानेछ । कम्युनिष्टहरुले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्नुपर्दछ ।
२००६ सालदेखि २०७९ सालसम्मका नेपाली कम्युनिष्ट आन्दोलनका कमि–कमजोरी र हाम्रो परिस्थितिलाई सही विश्लेषण नगर्ने हो भने–
कम्युनिष्ट पार्टीका विचार र आन्दोलनको अगुवाईबाट प्राप्त उपलब्धी, कम्युनिष्ट आन्दोलनमा सहभागीले गरेको बलिदान, भोगेको जेल–नेल लगायतका यातना, जनताको पक्षमा लेखिएका गीत, लगाइएका नारा गुम्न सक्छ ।
सात दशकको आन्दोलनको बलमा ६ जना कार्यकारी प्रमुख प्रधानमन्त्री बने, राष्ट्र प्रमुख राष्ट्रपति बने, उपराष्ट्रपति बने । के आन्दोलनको लक्ष्य र उद्देश्य यति नै थियो त ? वर्ग उत्थानका सवाल पूरा भयो कि बाँकी छ ? यो प्रश्नको जवाफ खोज्नुपर्छ ।
०००
इतिहासको समीक्षा गर्दै, वर्तमानलाई सच्याउँदै नेतृत्व अघि नबढ्ने हो भने कम्युनिष्ट आन्दोलनको भविश्य अन्धकार छ । यस्तो अवस्थामा मुख्य मुद्दा वर्ग मुक्तिको सवाल अलपत्र पर्छ ।
जनतालाई वर्गविहीन समाजको सपना देखाएर वर्ग उत्पादन गर्नेतर्फ अघि बढ्नु अवसानको यात्रा हो । यो यात्राले इतिहास र वर्तमानलाई खरानीको थुप्रोमा परिणत गरिदिन सक्छ ।