काठमाडौं । सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले मन्त्री मेटमणि चौधरीलाई गुमराहमा पार्दै ठेक्कापट्टाका काम बाँड्दैआएका छन् । आगामी मंसिरमा अवकाश हुन लागेका सचिव सिंहले २०७९ साउन लागेपछि मात्रै २० लाख रुपैयाँसम्मका डीपीआरका काम आफ्ना निकटस्थ कन्सलटेन्सीहरुलाई बोलाउँदै बितरण गरेका छन् ।
समाचार स्रोतका अनुसार, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाललाई दबाब दिई २० लाखसम्मका डीपीआरका काम दिएका छन् । दंगाल अडान राख्न नसक्ने सचिवका एसम्यान भएकाले विभागमा सचिव सिंहले जे चाह्यो त्यही गराउँदै आएका छन् ।
सचिव सिंहले एक महिनाको बीचमा करिब ४० वटा डीपीआरका काम आफू र आफ्ना निकटका कन्सलटेन्सीलाई दिइसकेका छन् । कुपण्डोलको होटल हिमालय र महाराजगंजको साम्बला होटलमा सेटिङ गरी त्यहीँबाट उनका निकटस्थहरुका कन्सलटेन्सीहरुलाई डीपीआरका काम दिने गरिएको छ । ८ करोड बराबरका डीपीआरका काम उनले दिइसकेका छन् ।
भवन विभागमा आफ्ना निकटस्थहरुलाई डीपीआरका काम दिनका लागि १ अर्ब रुपैयाँ राखिएको छ । मंसिरमा अवकाश हुने भएकाले सचिव सिंहले अहिले धमामध त्यो रकमबाट काम बाँड्ने र रकम संकलन अभियान थालेका छन् । तर सचिवले यस्तो मनपरी करोडौैको टुक्रे काम बितरण गर्दा पनि मन्त्री चौधरी भने अनभिज्ञ छन् । उनलाई गुमराहमा राखिएको छ ।
यसैबीच, सहरी विकास मन्त्रालयले केही दिनभित्रै समीक्षा गोष्ठी गर्ने भएको छ । जुन गोष्ठीमा देशभरका १४ भन्दा बढी भवन विभाग अन्तर्गतका संघीय डिभिजन कार्यालयका प्रमुखहरुलाई वार्षिक खर्च भएको बजेटको ३ देखि ४ प्रतिशत रकम बुझाउनसमेत उनले उर्दी जारी गरेका छन् ।
सहरी विकास विभागको महानिर्देशकदेखि सचिव हुँदासम्म संकलन गरेको भ्रष्टाचारको रकम भारतको पटनामा नातेदारकोमा राखेको स्रोतले बताएको छ । सचिव सिंहलाई निजामती प्रशासनमा बदनाम पात्रका रुपमा लिने गरिन्छ । २०७२ को भूकम्पको समयमा उनी भवन विभागको डीजी थिए । त्यो समयमा १ सयभन्दा बढी सबइन्जीनीयर र इन्जीनीयर भर्ना गर्दा उनले प्रतिब्यक्ति ५ लाखका दरले उठाएको आरोपमा हटाउनुपरेको थियो ।