Logo
Logo

मन्त्रीको सचिवालयमा असुली धन्दा


37.7k
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खुलेओम घुस बार्गेनिङ हुन थालेको छ । सरुवाको पत्र लिन घुस लेनदेन हुन थालेपछि कर्मचारीहरूले मुख्यसचिव शंकरदास बैरागीसम्म गुनासो गरेका छन्, तर मन्त्रालयमा यस्तो आतंक रोकिएको छैन ।

साउनको पहिलो साता मन्त्रालयले करिब दुई सय कर्मचारीको सरुवा गरेको थियो । त्यसरी भएको सरुवाको आधा पनि कार्यान्वायन हुन सकेको छैन । किनकी, मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको सचिवालयलाई खुशी नबनाई सरुवाको पत्र नै प्रशासन शाखाले तयार गर्दैन ।

सहसचिव रघुराम बिष्ट, उपसचिवद्वय रुपनारायण खतिवडा र रवीन्द्रजंग थापाको मिलेमतोमा यस्तो सरुवामा खुलेआम असुली धन्दा चलेको एक कर्मचारी बताउँछन् । ‘सरुवा पत्र लिन गएको थिएँ, पहिला मन्त्रीको सचिवालयलाई मिलाएर आउनुस् भन्ने जवाफ आयो,’ ती कर्मचारी भन्छन्, ‘मन्त्रीको सचिवालयमा जाँदा त चुनाव खर्चको पनि कुरा आयो, पैसा नबुझाए पत्र नै नबन्ने सिष्टम पो बनाइएको रहेछ ।’

संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठको सचिवालयमा रहेका सुजन महर्जन र कमल खत्रीले यसरी सरुवामा आतंक मच्चाएका हुन् । यसमा मन्त्रालयका सचिव सुरेश अधिकारी समेत निरीह बनेका छन् ।

सेटिङ मिलेको अवस्थामा भने नियम मिचेरै सरुवा हुने गरेको छ । हालै एक अधिकृतलाई वैदेशिक रोजगार विभागबाट सिधैं मालपोत कार्यालय, ललितपुरमा सरुवा गरिएको छ । जबकी संघीय मामिला मन्त्रालयले त्यसरी सिधैं मातहतको कार्यालयमा नभई मन्त्रालयमा मात्र सरुवा गर्ने हो ।

स्थानीय तहका प्रशासकीय अधिकृतको सरुवा ठूलो चलखेल भएको छ । यसको जिम्मा उपसचिव रुपनारायण खतिवडाले लिएका छन् । मन्त्राययले विभिन्न स्थानीय तहमा प्रशासकीय अधिकृत हेरफेर गरेको छ । पैसा बुझाउनेलाई सुगमका स्थानीय तह पठाउने र अन्यलाई दुर्गम खेदिएको छ ।

मन्त्रालयले उपसचिव शिशिर पौडेललाई कृष्णपुर, छविलाल सुवेदीलाई रत्ननगर, कृष्ण प्रसाद सापकोटालाई बर्दघाट, केशब प्रसाद उपाध्यायलाई कालिका, संजय रालवटलाई त्रियुगा, प्रदीप पौडेललाई देवदह, पोषणराज भण्डारीलाई देवचुली, गोविन्द सिग्देललाई माधवनारायण, भुदेव झालाई बरहथवा, सुमन अधिकारीलाई भानु, अर्जुन राईलाई भोजपुर, एकदेव खनाललाई विदुर नगरपालिकामा खटाउने निर्णय भइसकेको छ । तर, सूची गोप्य राख्ने र कुरा नमिलेको अवस्थामा बदर समेत गर्न थालिएको मन्त्रालय स्रोत बताउँछ ।

सहसचिव रघुराम बिष्टको यस्तो कार्यशैली देखेर मातहतका कर्मचारीहरु पीडित भएका छन् । उनी यसअघि स्वास्थ्यमा बस्दा पनि यस्तै गतिविधिका कारण बदनाम भएका थिए । अहिले मन्त्रीसँग मिलेर उनले मन्त्रालयलाई बार्गेनिङक अड्डा बनाएका छन् । ‘कर्मचारीहरु नै आफ्नै मन्त्रालयबाट पीडित छन्,’ एक कर्मचारीको गुनासो छ,‘यस्तो अवस्थामा उनीहरुले दिने सेवा कस्तो होला ?’

प्रतिक्रिया दिनुहोस्