Logo
Logo

ग्रामीण क्षेत्रको विकास सरकारको प्राथमिकतामा : रामचन्द्र पौडेल


252
Shares

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँको विकास नै देश विकासको जग भएको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१३ र १४ का विभिन्न ठाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले ग्रामीण क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।

फाइल फोटो

गाउँमै रोजगारी र गाउँमै आम्दानी भएमात्रै गाउँमा मानिस बस्ने भएकाले अबको प्राथमिकता त्यसतर्फ हुनुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । ‘रोजगारी र सुविधा खोज्दै सहरमा बसाइँसराइ बढेपछि गाउँ रित्तो हुने अवस्थामा पुगेको छ, अब गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गराएर गाउँमै बसूँ बसूँ बनाउनेतर्फ लाग्नुपर्छ’, उनले भने ।

गाउँको विकास आफ्नो एकमात्र लक्ष्य रहेको वरिष्ठ नेता पौडेलले बताए । ‘तनहुँका ग्रामीण क्षेत्रमा मेरो नेतृत्वमा विकासका योजना सुरु भएको हो, त्यसलाई पूरा गराउने जिम्मेवारी पनि मेरो हो, अधुरा योजना पूरा गराउनेतर्फ लागेको छु’, उनले भने ।

फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन देशको आवश्यकता रहेको जिकिर गरे । उनले संविधानको रक्षाका लागि गठबन्धन गरिएको भन्दै त्यसलाई निरन्तरता दिइने बताए ।

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले कांग्रेसको नेतृत्वमा विकास अभियानले पूर्णता पाउने बताए । यही साउन ८ गतेदेखि गृहजिल्लामा रहेका पौडेलले विभिन्न ठाउँमा जनतासँग भेटघाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्