Logo
Logo

नारायणगढ-बुटवल सडक चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौं : यातायातमन्त्री


1.5k
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बुधवार प्रतिनधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा नारायणघाट-बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिएका छन् ।

बैठकमा मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एक पटक पुनःनिर्देशन गर्ने र नमाने ठेक्का रद्ध गर्ने चेतावनी दिएका हुन् ।

उनले आयोजनाको ठेक्का रद्ध गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धीमूलक निर्माण हुन नसके ठेक्का तोड्ने बताएका हुन् ।

‘नारायणघाट बुटलव सडक खण्डको काम राम्रो नभएकाले ठेक्का रद्ध गर्ने कि नगर्ने आयोजना प्रमुखले लिखित रुपमा पत्रचार गर्नुभएको छ’ उनले भने, ‘मैले ठेक्का रद्ध गर्ने कुरा सार्वजनिक रुपमा नै भनेको छु । समितिले ठेक्का रद्ध गर्न निर्देशन दिओस्, निर्देशनपछि एकपटक निर्देशन गर्छौं भएन भने जे जति क्षति भएपनि ठेक्का तोड्छौं ।’

बैठकले एशियन हाइवेका रुपमा स्तरोन्नति भइरहेको सो आयोजना सम्पन्न गर्नुपर्ने अवधिसम्ममा समष्टिगत प्रगति १८ दशमलव ४४ प्रतिशत रहेकामा समितिको ध्यानाकर्षण भएको उल्लेख छ । गत वर्ष माघ २८ गते समितिले स्थलगत अवलोकन गरी आवश्यक निर्देशनसमेत दिएको थियो ।

मितिले मित्र राष्ट्रहरुबाट निर्धारित शर्तसहितको अनुदान तथा ऋण सहयोगमा निर्माण तथा स्तरोन्नति भइरहेका आयोजना निर्धारित समयमा र गुणस्तरयुक्त रुपमा सम्पन्न हुन नसकेकाले र आर्थिक व्ययभार वृद्धि भइरहेकाले त्यसको तत्काल समीक्षा गरी पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियस्तरका र मुख्य सडक नै क्षतविक्षत हुने गरी पहुँच मार्ग निर्माण गर्ने प्रवृत्ति बढिरहेकाले निर्माणको नीतिगत मापदण्ड तत्काल निर्धारण गरी कडाइका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइएको छ ।

निर्माणाधीन अवस्थाको कालीकोट–जुम्ला जोड्ने पुल हालैको वर्षाका कारण चर्किएकाले त्यसको प्राविधिक पक्ष तथा गुणस्तर सम्बन्धमा छानबिन गरी प्रतिवेदन समितिमा पठाउन पनि निर्देश गरिएको छ । भारतको एक्जिम बैंकको सहयोगमा निर्माणाधीन बालाजु–रानीपौवा र रानीपौवा–पिपलबोट सडक निर्माण तत्काल अघि बढाउन आवश्यक व्यवस्था मिलाउन समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले वर्षाले आएको बाढी पहिरोका कारण विभिन्न सडक तथा पुलमा क्षति पुगेकाले तीनको तत्काल मर्मत गरी यातायात सेवालाई सहजरुपमा चालु गर्ने व्यवस्था मिलाउन सरकारलाई भनेको छ । साँघुटार–घोडाखोरी–ओखलढुङ्गा सडक कालोपत्र गर्न ढिलाई भइरहेको भन्दै तीव्र गतिमा अघि बढाउन पनि निर्देशन दिइएको छ ।

समितिका सभापति कल्याणीकुमारी खड्काले वैदेशिक सहयोगको आयोजना राष्ट्रको पक्षमा छ छैन भनी सोच्नुपर्नेमा जोड दिए । तीन वर्षदेखि समितिले पटक–पटक भनिरहँदा पनि युटिलिटिसम्बन्धी कानुन आउन नसकेको उनले बताए ।

समितिका सदस्य केदार सिग्देल, विद्या भट्टराई, कमला रोक्का, गणेशकुमार पहाडी, इन्दु शर्मा, जिप छिरिङ लामा, आशाकुमारी विक, टेकबहादुर बस्नेत, राजेन्द्रकुमार राई, शान्ता चौधरीलगायतले विभिन्न सडक आयोजना निर्माणमा ढिलाइ भइरहेकाले सरकारले चाँडो काम गराउन वा कारबाही गर्न ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्