Logo
Logo

आगामी चुनावमा महिलाको प्रतिनिधित्व बढाउनुपर्छ : सभामुख सापकोटा


693
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरुले आगामी चुनावमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउनुपर्नेमा सापकोटाले जोड दिए ।

बिहीबार काठमाडौंमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अहिले मतदाताहरुमा दलगत मतदान गर्ने अरुचि देखापरेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरुले आगामी निर्वाचनहरुमा प्रत्यक्षतर्फ महिलाहरुको प्रतिनिधित्व बढाउनुपर्ने बताए ।

उनले भने, ‘आगामी संघको र प्रदेश सभाको निर्वाचनमा दलहरुले महिलाहरुलाई बढीभन्दा बढि प्रतिनिधित्व गराउन जोड गर्नुपर्दछ । यो राष्ट्रका लागि, लोकतन्त्रका लागि र यो बहुआयामिक विकासका लागि पनि महत्वपूर्ण कुरा हो । यो काम पार्टीले नै गर्नुपर्छ । व्यक्ति होइन, पार्टीले जोडबल गर्नुपर्छ महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि । दलगत मतदानमा अहिले जुन अरुचि देखा परेको छ नि, यो हाम्रो व्यवस्थाका लागि समस्या हो । यो समस्या हल गर्नका लागि धेरै कुराहरु छन् । तर, सबभन्दा महत्वपूर्ण कुरा चाँही आधा आकाश धानेका महिलाहरुलाई समानुपातिकमा मात्र नभइ प्रत्यक्ष निर्वाचनमा पनि सहभागी गराउनुपर्दछ। यसो भयो भने हाम्रो व्यवस्था बलियो हुँदै जान्छ ।’

सभामुख सापकोटाले जनताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिहरुलाई सचेत गराए । जनप्रतिनिधिहरुको जीवनस्तरमा परिवर्तन आए पनि जनताको जीवनमा खासै परिवर्तन नआएकाले उनीहरुले गरेको हरेक प्रश्नको जवाफ जनप्रतिनिधिहरुले दिनुपर्ने सापकोटाको भनाइ छ ।

कार्यक्रममा बोल्दै उपसभामुख पुष्पा भुसालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता अधिक गराउन राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराएकी छन् ।

सोही कार्यक्रममा बोल्दै पूर्वसभामुख ओनसरी घर्तीले भोलिको पुस्तालाई राजनीतिमा आकर्षित गराउनका लागि पनि अहिले देखिन नै दलहरुले महिलालाई प्रत्यक्षतर्फको निर्वाचनमा बढीभन्दा बढि सहभागिता गराउनुपर्ने बताइन् ।

उनले आरक्षण र विशेषाधिकार केही समयको लागि मात्रै भएकाले महिला नेतृत्व स्थापित गराउनका लागि महिला सांसदहरुले पनि पहलकदमी लिनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्