एजेन्सी । अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच २ घण्टा टेलिफोन वार्ता भएको छ ।
बिहीबार भएको संवादमा ताइवानको विषयलाई लिएर दुवै नेताले एक अर्कालाई चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति बाइडनले ताइवानबारे अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको उल्लेख गरेका थिए ।
उनले ताइवानको हैसियत परिवर्तन गर्ने एकपक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताए । चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई ‘एक चीन’ नीति अपनाउन आग्रह गरेका छन् । चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले अमेरिकालाई आगोसँग खेल्ने जोसुकैलाई जलाउने चेतावनीसमेत दिएका छन् ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको समाचारलाई लिएर चीन आक्रोशित भएको छ । भ्रमणअघि नै यो विषयलाई लिएर दुई देशबीच तनाव बढेको छ । ताइवानको यात्रा गरेमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चीनले चेतावनी दिएको छ ।
तर वासिङ्टनले ताइवानको कूटनीतिलाई एक चीन नीतिअन्तर्गत स्वीकार गरेको छैन । बिहीबार दुई राष्ट्रपतिबीच भएको टेलिफोन संवाद ‘प्रत्यक्ष र इमानदार’ भएको बाइडेन प्रशासनका एक अधिकारीले बताए ।
ह्वाइट हाउसका अनुसार दुई नेताहरूबीच ताइवान बाहेक जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा पनि छलफल भएको थियो।