Logo
Logo

मझुवागढीमा सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च


504
Shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा एक करोड सात लाख ४० हजार एक सय ३९ खर्च गरेको पाइएको छ ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले सवारीसाधन मर्मतमा ५३ लाख ५८ हजार छ सय ५४ र इन्धन खरिदमा रु ५३ लाख ८१ हजार चार सय ८५ खर्च गरेको पाइएको हो ।

यस्तै मेसिनरी औजार मर्मत खर्चतर्फ ६ लाख ८३ हजार ७०७ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । सवारीसाधनको मर्मत तथा सम्भार खर्चसम्बन्धी अभिलेख राख्न मलेप फारम नं ४१५ प्रयोग गर्नुपर्नेमा उक्त फारम प्रयोग नगरिएकाले कुन सवारीसाधन मर्मतमा कति खर्च भएको विवरण प्राप्त नभएको जनाइएको छ ।

सवारीसाधन मर्मतका लागि स्वीकृत मर्मत आदेशानुसारमात्र मर्मत गराइ सोको आधारमा सम्बन्धित फार्मलाई बिल भुक्तानी तथा खर्च लेख्नुपर्नेमा सो विपरीत मर्मत आदेश बेगर कर्मचारी तथा पदाधिकारीलाई बिलका आधारमा मर्मत खर्च भुक्तानी गरेको प्रतिवेदनमा भनिएको छ । नगरपालिकाले मर्मत खर्चतर्फ तोकिएको ढाँचा फारम प्रयोग गरी आन्तरिक नियन्त्रण प्रभावकारी बनाउनुका साथै खर्चमा मितव्ययिता कायम गर्नुपर्ने महालेखा औँल्याएको छ ।

यस्तै सवारीसाधनको इन्धन खर्च लेख्दा लग सिट संलग्न गरेर मात्र भुक्तानी दिनुपर्नेमा सो अनुसार नभएको महालेखाले जनाएको छ । पालिकामा प्रयोग हुने हलुका तथा हेभी सवारीसाधनको इन्धन खर्चको अभिलेख नराखेको, सवारीसाधनको किसिम तथा कोटा तोकी सोअनुसार इन्धनको भुक्तानी दिनुपर्नेमा सो विपरीत कर्मचारी तथा पदाधिकारीले पेश गरेको बिलका आधारमा भुक्तानी दिएको पाइएको जनाइएको छ ।

नगरपालिकाबाट विविध खर्चतर्फ ३२ लाख ८५ हजार सात सय ८४ खर्च भएकामा अधिकांश खर्च कर्मचारी तथा पदाधिकारीको खाजा, खाना र चियामा भएको पाइएको छ । विविध खर्चतर्फ भएको अधिकांश खर्चमा कार्यक्रम र प्रयोजन खुलाइएको छैन ।

निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले कार्यालय प्रयोयोजनभन्दा बढी आफ्ना कार्यकर्तालाई इन्धन उपलब्ध गराएकाले इन्धन खरिदमा बढी खर्च देखिएको जनएको छ । आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २३ बमोजिम स्वीकृत भएको कार्यक्रममा नियम २५ बमोजिम चौमासिक प्रगति विवरण बनाइ पेश गर्नुपर्ने र चौमासिक कार्यलक्ष्य तथा कार्यक्रमबमोजिम कार्यसम्पादन सम्पन्न गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्