काठमाडौं । स्वास्थ्य मन्त्रालय अन्र्तगतका खरिदमा भएको सेटिङमाथि छानबिनको माग गरी संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । स्वास्थ्य व्यवसायी महासंघले नै आइतबार समितिमा उजुरी गरेको हो ।
स्वास्थ्य मन्त्रालयको आपुर्ती व्यवस्थापन शाखाबाट मेडिकल माफियासँगको सेटिङमा करिब १० अर्बका औषधी र स्वास्थ्य उपकरण खरिद भएको हो । यसमा करोडौं लेनदेन भएको आरोप लागेपछि मन्त्रालयले पनि छानबिन थालेको छ । स्वास्थ्य राज्यमन्त्री हिरा केसीले शाखा प्रमुख डा.सुरेन्द्र चौरसियासँग स्पष्टिकरण मागेका छन् ।
‘स्वास्थ्य क्षेत्रमा खरबौं बजेट व्यवस्था गर्दा पनि जनताले स्वास्थ्य लाभ लिन नपाउनुमा अनियमित खरिदका कारण झण्डै ६० प्रतिशत रकम भ्रष्टाचार भईरहेको अनुमान गरिएको छ,’ उजुरीमा भनिएको छ,‘गुणस्तरिय सामान किन्ने निहुँमा महङ्गा उपकरण किनिएको भनेर ठूलो रकम सिमित व्यक्तिको स्वार्थमा दुरुपयोग हुने गरेको छ । अतः एक प्रतिनिधी घट्नाको रुपमा स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाबाट भईरहेको स्वास्थ्य सामग्री खरिद प्रक्रिया उपर यस सम्मानित समितिले तत्काल छानवीन समिति गठन गरी सत्य तथ्य उजागर गर्दै दोषी उपर कडा कारवाही गर्नुका साथै राज्यकोषबाट हुने कुनैपनि स्वास्थ्य सामग्री खरिदलाई पारदर्शी, प्रतिस्पर्धी, गुणस्तरिय एवं मितव्ययी बनाउन आवश्यक निती नियम तर्जुमा गर्न समेत विनम्र अनुरोध गर्दछौँ ।’ सो शाखाले मेडिकल व्यापारीद्वय बिशाल पण्डित र पोष्टराज ज्ञवालीसँग मिलेर उनीहरुकै स्पेशिफिकेसनअनुसार ठेक्का लगाएर महंगोमा सामान खरिद गरी घाृना गरेका हुन् ।
यसरी भएको थियो सेटिङ
दोहोर्याएर शाखा प्रमुख बनेका चौरसियाले अनियमितता गरी करोडौं कमाएको भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत बेखबर जस्तै छ । उनले सहकर्मीहरुलाई भन्ने गरेका छन्–आखिर अख्तियारमा पनि मानिस छन्, उनीहरुलाई पनि मिलाउन जान्नुपर्छ, त्यो म गरेकै छु् भन्दै सवैधानिक निकायको समेत बदनाम गर्ने गरेका छन् । सामान्य पृष्ठभूमिका चौरसियालाई आपूर्ति शाखा खुबै फापेको छ । कार्यक्षमतामा न्यून भए पनि कमाउधन्दामा भने उनी अब्बल मानिन्छन् । अहिले चौरसियाका लागि महाशाखा प्रमुख डा. रुद्र मरासिनी, महानिर्देशक डा दीपेन्द्ररमण सिंह, सचिव डा. रोशन पोखरेल र विभागीय मन्त्री समेत नतमस्तक छन् ।
किनकि उनीहरुले चौरसियाबाट नियमित रुपमा शुभलाभ प्राप्त गरिनै रहेका छन् । चौरसियाले करिब १० अर्बभन्दा बढीको औषधि र उपकरण खरिदको प्रक्रिया पूरा गरेका छन् । जसबाट चौरसियाले मात्रै ५ करोड भन्दा बढी घुस लिएको स्वास्थ्य सेवा विभागमा चर्चा छ । लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेजलाई औषधि र उपकरणको ८० प्रतिशत ठेक्का दिलाउन चौरसिया सफल भएका छन् । लुम्बिनीका पोष्टराज ज्ञवाली र हस्पिटेकका बिशाल पण्डितसँग सेटिङ छ । जसले गर्दा आपूर्तिका अधिकांश खरिद यिनै दुई कम्पनीले पाउँदैआएका छन् । कमिसनको डिल बिशाल पण्डितको होटल बसेरामा हुने गरेको छ । जहाँ चौरसियाका लागि एउटा कोठा छुट्टै ब्यवस्था गरिएको छ । होटलका सीसी क्यामराको फुटेज मगाएर हेर्ने हो भने चौरसियाको ओहोर दोहोर छर्लङ्ग हुन्छ । स्रोत भन्छ, चौरसियाले आपूर्ति शाखामा सरुवा भएपछि कमिसनको दररेट निर्धारण गरेका छन् । जसमा ०.५ प्रतिशत आफूलाई भनेर लिन गर्दछन् भने थप माथि दिनुपर्छ भनेर ०.३५ प्रतिशत छुट्याउन लगाउँछन् । जबकि उनले निर्धारण गरेको दररेटमा मन्त्रालयका लागि ०.१५ प्रतिशत छुट्याउने गरिएको छ । सम्बन्धित महाशाखा (बजेट परिचालन गर्ने) प्रमुखलाई ०.७५ प्रतिशत छुट्याउने गरिएको छ । महानिर्देशक दीपेन्द्ररमण सिंहले चौरसियाले छुट्याइदिएको ०.८ प्रतिशत नियमित रुपमा बुझ्दैआएका छन् । चौरसियाले आफ्नै हाकिम मरासिनीलाई भने ०.८ प्रतिशत, लेखा शाखालाई समग्र रुपमा १.२५ प्रतिशत कमिसनको दररेट निर्धारण गरिएको छ । कानुन शाखाले पनि ०.२५ प्रतिशत कमिसन पाउने गरेको छ ।समग्रमा ५ देखि ६ प्रतिशत कमिसन औषधि र उपकरण खरिदकर्ताले चौरसियामार्फत् बुझाउँदैआएका छन् ।
प्रतिस्पर्धा गरी टेण्डर पारेका खरिदकर्ताहरुलाई चौरसियाको दररेट बुझाउन अतिरिक्त ५ प्रतिशत छुट्टै छुट्याउनुपर्ने बाध्यता छ ।टेण्डर प्रक्रियामा ब्यवसायीहरुले सार्वजनिक खरिद ऐनको पालना गरी बोलपत्रमा भाग लिंदैआएको भए पनि चौरसियाले कायम गरेको दररेट भने कुन निकायबाट स्वीकृत भएको हो ? आपूर्तिकर्ताहरुले नछुट्याए औषधि र उपकरणमा एउटा न एउटा कमजोरी पत्ता लगाई दुःख दिने र भुक्तानीमा बिलम्ब गर्ने जस्ता झन्झट सृजना गर्ने गरेका छन् ।