Logo
Logo

हरियाली फर्काउन पोखरी, बिरुवा र नगदेबाली


441
Shares

पाँचथर । सुक्खाग्रस्त क्षेत्रका रूपमा परिचित पाँचथरको कुम्मायक गाउँपालिकामा हरियाली फर्काउन बोटबिरुवा रोपण तथा नगदेबाली विस्तार कार्यलाई अघि बढाइएको छ ।

यसका लागि गाउँपालिकाले बोटबिरुवाको नर्सरी स्थापना, बर्सेनि नगदेबालीका बेर्ना उत्पादन र बीउबिजन खरिदमा स्थानीयवासीलाई सहयोग गर्दै आएको छ । सुक्खा प्रभावित तथा बोटबिरुवाविहीन क्षेत्रलाई हरियालीमा रूपान्तरण गर्न गाउँपालिकाले पक्की पोखरी निर्माण गरी पानी जम्मा गरी नर्सरी तथा बेर्ना उत्पादन गर्दै आएको छ । यहाँ उत्पादित बिरुवा गाउँपालिकावासीलाई रोपणका लागि निःशुल्क उपलब्ध गराइएको छ ।

गाउँपालिकाको स्थापनापश्चात् कुम्मायक–१ स्थित सेर्जेम्बा सामुदायिक वनमा बर्सातको पानी सङ्कलन गर्न पक्की पोखरी स्थापना गरिएको छ । बर्सातको पानीले मात्रै पर्याप्त नभएपछि पाइपबाट पानी ल्याई पोखरीको सेर्जेम्बा क्षेत्रमै नर्सरी स्थापना गरिएको छ । सोही क्षेत्रमा विगतका वर्षबाटै अकबरे खुर्सानीका बेर्नासमेत उत्पादन भइरहेको छ ।

यहाँ स्थापना गरिएको नर्सरीमा आर्थिक वर्ष २०७४/०७५ तथा आर्थिक वर्ष २०७५/०७६ मा बर्सेनि ५० हजारका दरले विभिन्न प्रजातिका बोटबिरुवा उत्पादन गरी वितरण गरिएको थियो । आव २०७५/०७६ मा डिभिजन वन कार्यालय पाँचथरले समेत यही स्थानमा ४० हजार विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी वितरण गरेको थियो । दुई आर्थिक वर्षको बजेटबाट टिक, खोटेसल्ला, रुद्राक्षलगायत आठ प्रजातिका बिरुवा उत्पादन गरी गाउँपालिकावासीलाई वितरण गरिएको कुम्मायक–१ का वडाध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए ।

कोभिड-१९ सङ्क्रमणको महामारीका कारण बीचका दुई आर्थिक वर्षमा बिरुवा उत्पादन गर्न नसकेको गाउँपालिकाले गत आवको रु चार लाख बजेटबाट खोटेसल्लाका बिरुवा उत्पादन गरेको छ । रुखो पाखाबारी, खोल्सीलगायत क्षेत्रमा रोपण गर्न उपयुक्त हुने भएपछि गाउँपालिकावासीको मागबमोजिम गाउँपालिकाले खोटेसल्लाका बिरुवा उत्पादन गरी अहिले धमाधम वितरण गरिरहेको छ ।

पचास हजार बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएकोमा करिब ३५ हजार बिरुवा उम्रिएको र वितरण कार्य धमाधम भइरहेको वडाध्यक्ष लावतीले जानकारी दिए । यस वर्ष उत्पादित खोटे सल्लाका बिरुवा गाउँपालिकाका पाँचवटै वडाका विशेषतः नाङ्गा पाखा तथा बाँझो जमिनमा रोपण गर्न थालिएको छ ।

सुक्खाले प्रभावित भएपछि यहाँका सर्वसाधारण बसाइँ सर्ने तथा जग्गा जमिन बाँझै रहने क्रम बढ्दो छ । यसरी बाँझिएको जमिनमा खोटे सल्लासहित गाउँपालिकाले उत्पादन गरेका बोटबिरुवा रोपणका लागि उपयुक्त भएको किसानको भनाइ छ । प्रशस्तै पाखो जमिन रहे पनि उपयुक्त हुने बिरुवा रोपण गर्न नपाउनुभएका कुम्मायक–१ का गणेश नेम्वाङ सल्लाको गोलियाबाट राम्रो आम्दानी हुने थाहा पाएपछि आफूले पाखो जमिनमा सल्लाका बिरुवा लगाउन थालेको बताए ।

आफूले अहिले रोपण गरेका बिरुवाबाट उपलब्धि लिन पाउने निश्चित् नभए पनि भावी पुस्ताको आम्दानीको स्रोत बनाउन तथा खाली रहेको जमिनलाई हरियाली बनाउन बिरुवा रोप्न लागेको नेम्वाङको भनाइ छ । उहाँले मात्रै आफ्नो ६० रोपनी जमिनमा सल्लाका बिरुवा रोपिसकेको बताए । अन्य निकायबाट यस प्रकारका सहयोग नपाए पनि गाउँपालिकाले बिरुवा उपलब्ध गराएपछि किसान खुसी भएका छन् ।

खेतीका लागि काम गर्ने मानिस नपाउने, बाँदरले बाली पाक्न नदिने तथा सुक्खाका कारण पानी नभएपछि जमिन बाँझिएका कारण धेरै जग्गा बाँझो रहेकाले बिरुवा लगाई हरियाली बनाउनुको विकल्प नरहेको नेम्वाङले बताए । खोटे सल्ला जस्ता राम्रो आम्दानी हुने बिरुवा हुर्काउन सके एकै रुखले रु १० हजारभन्दा बढी आम्दानी दिने किसान बताउँछन् । यहाँका किसानले ५० वटादेखि एक हजार वटासम्म बिरुवा लैजाँदै गरेको वडाध्यक्ष लावतीले बताए ।

कुम्मायक–२ को फाक्चुवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर लावती आफ्नो विद्यालय क्षेत्रमा करिब १५ रोपनी जग्गा खाली भएपछि सल्लाका बिरुवा लगाउन लागेको बताए । उक्त खाली जग्गामा एक हजार ५० वटा बिरुवा लगाउन लागेको उनको भनाइ छ । विगतमा विभिन्न प्रजातिका बिरुवा लगाइए पनि नफस्टाएको तर खोटे सल्ला फस्टाउने र ठूलो रुख भई आम्दानीको बाटोसमेत हुने अपेक्षाले बिरुवा लगाउन लागिएको लावतीको भनाइ छ ।

गाउँपालिकाले स्थापनाकालदेखि नै यस क्षेत्रमा नगदेबाली विस्तारका लागि समेत सहयोग गर्दै आएको छ । गत आव मात्रै दुई लाख वटा अकबरे खुर्सानीका बिरुवा उत्पादन गरी वितरण गरिएको वडाध्यक्ष लावतीले बताए । यस्तै गाउँपालिका तथा वडा कार्यालयले यस क्षेत्रका किसानको आयआर्जन वृद्धिका लागि अदुवा रोपणमा समेत सहयोग गर्दै आएको छ । ‘अकबरे खुर्सानी र अदुवाको खेती बढ्दै गएको’, वडाध्यक्ष लावतीले भने, ‘किसानले आम्दानी बढाउँदै लैजाँदा हामी पनि खुसी छौँ ।’

कुम्मायक गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ तथा आर्थिक वर्ष २०७५/०७६ को रु १४ लाख बजेटले सेर्जेम्बा सामुदायिक वनमा बर्सातको पानी सङ्कलन गर्ने उद्देश्यसहित पक्की पोखरी निर्माण गरिएको थियो । सोही पोखरीमा पाइपबाट पानी ल्याई नर्सरी तथा बेर्ना उत्पादन गरिएको हो । पोखरीकै कारण नर्सरी, बेर्ना उत्पादन र एक निजी कृषि फर्म सञ्चालन भइरहेको वडाध्यक्ष लावतीले बताए ।

प्रतिक्रिया दिनुहोस्