Logo
Logo

गृहमन्त्रीको नाममा असुली गर्ने ढकाल फरार


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन । लेनदेनको विवाद मिलाउन गृहमन्त्रीको नाममा १० लाख असुलेर चितवनमा सन्देश फाउण्डेसन नामको पुनस्र्थापना केन्द्र चलाउने गौरवबाबु ढकाल फरार भएका छन् । प्रहरीद्वारा उनको खोजीकार्य तिव्र पारिएको छ । ढकालले मन्जुश्री सप्लायर्ससँग गृहमन्त्री, प्रजिअ र एसपीलाई भनेर लेनदेन विवाद मिलाउने भनेर १० लाख रुपैयाँ लिए । तर केस मिलाउन नसकेपछि उनी फरार भएका छन् ।

ढकालले गृहमन्त्रीदेखि एसपीका नाममा चेक लिएको गुनासो मन्जुश्रीले गरेपछि प्रहरीले उनको खोजी गरेको छ । तर उनी फरार भएका छन् । ढकालले गृहमन्त्री र एसपीको नाममा लिएको १० लाखको चेक साटेको पुष्टी भएपछि प्रहरीले खोजी तीव्र पारेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सचिवालयमा काम गर्ने दावी गर्दै आएका गौरवबाबु ढकालले चितवनमा कानुन विपरीत ढुकुटी खेलाउनेदेखि विभिन्न गलत काम गर्नेहरुबाट फाइदा लिएर संरक्षण गर्दैआएका थिए । सन्देश फाउण्डेसन नामक पुनस्र्थापना केन्द्रका सञ्चालक रहेका ढकालले आफ्नै कार्यालयमा विभिन्न व्यक्तिहरूलाई भेला गराई चेक बाउन्स र लेनदेनको मुद्दामात्र होइन, अवैध ढुकुटी र मिटरब्याजको काम गर्दै आएकोबारेमा समाचार नै सार्वजनिक भएको थियो ।

गृहमन्त्री थापाको नाममा उनले यस्ता अपराधिक काम गर्नेहरुलाई जोगाउने काम गर्दैआएका थिए । प्रहरी प्रशासनले उनका यस्ता गतिबिधि थाहा पाएर पनि गृहमन्त्री थापासँग उनको कनेक्सन छ भनेर उनलाई संरक्षण गरेको थियो । उनले गृहमन्त्री थापासँग खिचेको तस्वीर फेसबुकमा राखी भ्रम छर्ने प्रयास गरेका थिए ।

गृहमन्त्री थापाका सल्लाहकार सूर्य सुवेदी पथिकको नाम पनि उनले लिने गरेका छन् । ढकालले आफू गृह मन्त्रालयको सचिवालय मातहत लागूऔषध अन्तर्गतको अभियानमा काम गर्ने कर्मचारी हुँ भन्दै धम्क्याएर केही दिन अघि भरतपुर २ क्षेत्रपुरकी रेणु मुल्मी श्रेष्ठको समूहसँग मिलेमतो गरी एक महिलालाई १४ लाख ७३ हजार रुपैयाँको अवैध कागज गराएपछि विवादमा आएका थिए । दुई साता अघि अवैध कागज गराएको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परे पनि चितवन प्रहरीले भने ढकाललाई केही नगरी छाडिदिएको थियो ।

त्यस्तै मञ्जुश्री सप्लायर्सलाई बाबा रेग्मी नामका एक व्यक्तिले प्लाइउडका सामान लगेबापत रकम तिर्नुपर्नेमा रेग्मीले नतिरेपछि मञ्जुश्रीले तिनै ढकाललाई प्रयोग गरी रेग्मीमाथि कुटपिट गराएका थिए । रेग्मीले प्रहरीमा उजुरी दिएपछि वडा प्रहरी कार्यालय नारायणगढमा मिलापत्र गराइएको थियो । तर, कुटपिट गर्ने ढकाललाई भने प्रहरीले कुनै कारबाही गरेको छैन ।
ढकालले गृहमन्त्री थापाका छोरा प्रतिकको पनि नाम भजाएर चितवनमा प्रहरीदेखि सर्वसाधारणसम्मलाई तर्साउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्