Logo
Logo

एक्लै भयो एमाले, देशभर पराजित हुने खतरा


107.9k
Shares

काठमाडौं । सबै राजनीतिक दलका नेता–कार्यकर्ता आगामी निर्वाचनको रणनीतिक विमर्शमा जुटेका छन् । तर, नेकपा एमालेभित्र निर्वाचनलाई लिएर औपचारिक रुपमा कुनै छलफल हुन सकेको छैन ।

आगामी निर्वाचनको विषयमा छलफल गर्न चाहने नेताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले ‘अहिले बेला भएको छैन’ भन्ने गरेका छन् । एमालेमा ओलीसँग दोहोरो प्रश्न गर्ने हिम्मत भएका नेताहरू अहिले छैनन् । त्यसैले उनीहरू आ–आफ्ना गुट, समूह र जत्थासहित छलफलमा जुट्ने गरेका छन् ।

ओलीका कोर टिमले काठमाडौं उपत्यकासहित देशभरि नै सांगठनिक गतिविधि बढिरहेको र त्यसले जनमत वृद्धि गर्ने रिपोर्टिङ गर्ने गरेका छन् । आ–आफ्नो समूह बनाएर चुनावबारे चर्चा गर्ने नेताहरू भने राप्रपा, लोसपासहित गरिने ‘खुद्राखाद्री गठबन्धन’ बाट पार नलाग्ने कारण वाम गठबन्धन नै एकमात्र विकल्प भएको निश्कर्षमा पुगेका छन् ।

ओलीले चुनावबारे चासो र चर्चा गर्न चाहने पार्टीका नेताहरूलाई आ–आफ्नो काम गर्न अह्राएका छन् । उनले कामको आधारमा सबैको मूल्यांकन हुने भनेपछि विशेषतः १० भाइमध्येका नेता काम गर्न ‘जुर्मुराएका’ हुन् । त्यसअनुसार, विभागीय प्रमुखहरूको बैठक, महंगीविरुद्धको प्रदर्शन, सांस्कृतिक फाँटले साउन १५ मा खिर खुवाउनेजस्ता कार्यक्रमहरू गरेका हुन् ।

विभागीय तथा जनसंगठन प्रमुखहरूको छलफल गराउने काममा गोकर्ण विष्ट, महंगीविरुद्धको प्रदर्शनमा योगेश भट्टराई, खिर खुवाउने कार्यक्रममा रघुजी पन्तको सक्रियता थियो ।

भीम आचार्यले केही दिनभित्रै पर्यटन व्यवसायीहरूसँग ओलीको छलफल कार्यक्रम राख्ने तयारी गरेका छन् । यसअघि अर्थ तथा योजना विभागको प्रमुख रहेका घनश्याम भुसालले ‘एम अधिकारी प्रकरण’ मा ओलीलाई खुशी पार्ने गरी अभिव्यक्ति दिइसकेका छन् । ओलीलाई खुशी पार्नका लागि माधवकुमार नेपाललाई गाली गरेर मात्रै नपुग्ने भएपछि ओलीले अह्राएअनुसारका काम गर्नुपर्ने अवस्थामा उनीहरू पुगेका हुन् ।

यस्तो स्थितिमा पुग्नुको मुख्य कारण हो, आगामी निर्वाचनको टिकटका लागि भूमिका निर्माण गर्नु । तर, ओलीको भित्री समूहका एक नेता भन्छन्, ‘योगेशबाहेक अरुले टिकट पाउने सम्भावना कम छ, उनले पनि ताप्लेजुङबाट नपाउने करिव करिव निश्चित छ ।’

१० भाइमध्ये टिकटको चिन्ता नगर्नेमा भीम रावल र युवराज ज्ञवाली मात्रै हुन् । अहिले रावलसहित कञ्चनपुरका सांसद दीपकप्रकाश भट्ट र कैलालीका झपट रावल बेग्लै किसिमले अगाडि बढ्न सरसल्लाह गरिरहेका छन् । उनीहरूले चुनावको मिति घोषणा हुनासाथ गोप्य योजना सार्वजनिक गर्ने बताएका छन् ।

‘काम देखाउने’ सिलसिलामै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेर त्यो भेटको कुरा ओलीलाई सुनाएका छन् । स्रोतका अनुसार, उक्त भेटमा माधव नेपालले ओलीबारे गरेको कुराकानी ईश्वर पोखरेलले जस्ताको तस्तै सुनाउन सकेनन् ।

माधवले ओलीबाट विगतमा भएका सम्पूर्ण गल्तीप्रति क्षमा माग्दै पद त्याग गरेपछि मात्रै कुरा गर्न सकिने बताएका थिए । तर, ईश्वरले केपीलाई त्यही भाषा सुनाएनन् । उनले ओलीलाई भने, ‘एकपल्ट तपाईं आफैँले फोन गर्नुस्, उनी कुरा गर्न तयार हुन्छन् ।’ तर, ओलीले फोन गर्न चाहेनन् । ओलीलाई अरु कुरा भन्न सजिलो, तर पद छोड्ने कुरा भन्नु आफैँ सर्वनाश हुनुसरह भएका कारण ईश्वरले त्यस्तो आँट नगरेका हुन् ।

ईश्वरले पनि ‘काम गरेर’ ओलीलाई खुशी पार्ने स्थिति आउनुका पछाडि चुनावकै चिन्ता रहेको स्रोतले जनाएको छ ।

के हुन्छ काठमाडौंमा ?
काठमाडौं उपत्यकाको हकमा केही महिलालाई उम्मेदवारका रुपमा अगाडि सार्ने बालकोटको सुरसार हुँदा ईश्वर अत्तालिएका हुन् । उनको निर्वाचन क्षेत्र काठमाडौं–५ मा शान्ति अधिकारीलाई संघको निर्वाचनमा उठाइने तयारी छ ।

काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला पनि त्यही क्षेत्रका बासिन्दा हुन् । उनले पनि संघीय चुनावमै इच्छा गरेका छन् । त्यसैले निरौला र अधिकारीमध्ये एकलाई संघीय संसद, अर्कोलाई प्रदेशसभामा उठाइने सुइँको पाएपछि ईश्वर त्यस्तो स्थितिमा पुगेका हुन् ।

ओलीले टिकट दिन चाहेकी शान्ति प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीकी बुहारी हुन् । उनले पनि माधव नेपाललाई अन्तिम स्थितिमा धोका दिएर ओलीलाई रोजेकी थिइन् ।

ओलीले काठमाडौंको क्षेत्र नं. ७ मा इन्दिरा पन्त मानन्धर र ८ मा अञ्जान शाक्यलाई उठाउने तयारी गरेपछि ७ का प्रत्यासी रामवीर मानन्धर र ८ की प्रत्यासी अष्टलक्ष्मी शाक्यको स्थिति धरमर भएको छ ।

१० भाइमध्ये चुनावको सबभन्दा बढी चिन्ता गरिरहेका सुरेन्द्र पाण्डेले अहिलेसम्म ओलीलाई खुशी पार्ने कुनै सूत्र भेट्टाएका छैनन् । बरु, दिन बिराई–बिराई समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेट्न गएको कुराले ओलीमा सुरेन्द्रप्रति शंका उत्पन्न गराएको छ ।

ओलीलाई खुशी पारेर पनि पार नलाग्ने स्थितिका नेता भीम आचार्यले मर्निङवाकको रुट नै फेरेका छन् । कौशलटार बस्ने आचार्यले आजकल मर्निङवाक गर्दै बालकोट पुग्ने र ओलीसँग भेट्न प्रयास गरिरहेका हुन्छन् ।

के हुन्छ देशभर एमालेको अवस्था ?
२०७४ को संघ र प्रदेश निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाँदा एमालेमा जुन उत्साह थियो, त्यो अहिले हुने कुरा भएन । २०७४ को निर्वाचनमा एमालेले माओवादीसँग गठबन्धन गरेको कारण प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ८० सिट जितेको थियो ।

यसपकट एमालेलाई कुनै ठूला पार्टी साथ दिने सम्भावना छैन । यस्तो अवस्थामा एमालेलाई अघिल्लो निर्वाचनबाट प्राप्त स्थान कायम राख्न सम्भव छैन ।

गत स्थानीय तहको निर्वाचनमा मतको हिसाबले एमाले र कांग्रेसबीच त्यति फरक नभए पनि पाँचदलीय गठबन्धनका कारण देशैभरी एमालेको स्थिति कमजोर हुने देखिन्छ ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष १६५ सिटमा एमाले ८०, माओवादी केन्द्र ३६, नेपाली कांग्रेस २३, राजपा ११, समाजवादी फोरम १० र अन्य ५ स्थानमा स्वतन्त्र विजयी भएका थिए ।

आगामी मंसिरमा हुने निर्वाचनमा यो स्थिति कायम नरहन सक्छ । सिट बाँडफाँडमा ध्यान पुर्याउन सक्यो भने गठबन्धनलाई दुईतिहाइ भन्दा बढी सिट प्राप्त हुन सक्छ । यस्तो अवस्थामा घाटा एमालेलाई हुने देखिन्छ ।

२०७४ को निर्वाचन परिणाम र २०७९ को स्थानीय तह निर्वाचन परिणामलाई तुलना गरेर हेर्दा काठमाडौंमा वडा अध्यक्षहरूमा एमालेले पाएको मत र पाँचदलीय गठबन्धनको मत जोड्ने हो भने आगामी प्रतिनिधिसभामा एमालेले एउटा पनि सिट जित्न सक्ने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्