Logo
Logo

बाढीपहिरोका कारण बैशाखयता ३४ जनाको मृत्यु


504
Shares

काठमाडौं । नेपालको अधिकांश भागमा गत सातादेखि निरन्तर परिरहेको वर्षा बुधवारबाट केही कम हुने मौसमविद् बताएका छन् ।

तर सक्रिय मनसुनको बेला भएका कारण पानी पर्ने सम्भावना रहिरहने उनीहरूले बताएका छन्। मनसुनलाई प्रभाव पार्ने न्यून चापीय रेखा प्रणाली बुधवारबाट नेपालबाट अलि तल सर्ने हुनाले मौसम केही सफा हुन सक्ने मौसमविद्को भनाइ छ ।

‘खासगरी पूर्वी क्षेत्रबाट सर्ने हुनाले पूर्वी क्षेत्रमा सफा हुँदै पश्चिममा जानेछ। यसले बुधवारबाट पानी पर्ने कम हुने देखिन्छ,’ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले बताइन्।

सामान्यतया जुन १३ मा मनसुन नेपाल भित्रिने गर्छ र अक्टोबर २ (मध्य असोज) मा बाहिरिने भएपनि यस वर्ष झन्डै एक साताअघि नै मनसुन सुरु भएको थियो। मनसुनको अवधिमा औसत १,४३० देखि १,५३० मिलिमिटर वर्षा हुने गरेको छ। यो वर्ष सामान्यभन्दा धेरै पानी पर्ने मौसमविद्हरूको पूर्वानुमान थियो।

‘तर अहिलेसम्म हेर्दा यसपालि मनसुनमा ब्रेक वा पानी पर्ने क्रम रोकिँदै चल्दै गरेको छ। त्यसैले केही समयअगाडि ठाउँठाउँमा तापक्रम निकै बढेको थियो,’ महर्जनले भनिन्। अझ पश्चिम क्षेत्रमा सुरुको अवधिमा मनसुन धेरै सक्रिय नहुँदा तापक्रम धेरै बढेको उनले बताइन्।

मनसुनकै बेला आउने बाढी पहिरोले प्रत्येक वर्ष दर्जनौँ मानिसको ज्यान लिने गरेको छ। बैशाखयता साउनको मध्यसम्म आइपुग्दा बाढीपहिरोबाट ३४ जनाको ज्यान गएको र दुई जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराइले जानकारी दिएका छन्।

यो अवधिमा ३८ जना घाइते भएको तथा ७७ घर पूर्ण क्षति भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्