संयुक्त राष्टसंघ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस एसियाली देशहरुको भ्रमणमा जान लागेकाे उनका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् ।
प्रवक्ता डुजारिकका अनुसार महासचिव गुटर्रेस जापान, मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लागेका हुन्।
महासचिव गुटर्रेस बिहीबार जापानका लागि प्रस्थान गर्नेछन् । जापानमा उनले हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनेछन् ।
महासचिवका प्रवक्ता डुजारिकले जापानको हिरोसिमामा हरेक वर्ष अगष्ट ६ तारिखमा आयोजना हुने सो शान्ति सम्मेलनमा उनी सहभागी हुने कार्यक्रम तय भएको जानकारी दिए ।
महासचिव गुटर्रेस जापानमा रहँदा त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ठ सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
उनले त्यस अवसरमा दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
जापानपछि उनी मंगोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जाने उनका प्रवक्ता डुजारिकले जानकारी दिएका छन् ।