काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको नयाँ निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्ले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको हो ।
निर्वाचनको मिति निश्चित भएपनि अहिलेको प्रतिनिधि सभा कहिलेसम्म क्रियाशील रहन्छ भन्ने चासोको विषय बनेको छ । निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
विगतको अभ्यासअनुसार आगामी निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने उनको भनाइ छ । २०७४ सालमा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि व्यवस्थापिका संसद् निष्क्रिय भएको उलने बताए ।
सरकारले निर्वाचनको मिति घोषणा गरे पनि संसद् सञ्चालनमा भने बाधा नपुग्ने उनको भनाइ छ । पाण्डेले सरकारले नयाँ विधेयक ल्याउन सक्नेदेखि सचिवालयमा दर्ता भएका विधेयक र प्रस्तावमाथि छलफल र पारित गर्न निर्वाचनको मिति घोषणाले बाधा नपुग्ने बताए ।