एजेन्सी । इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार पश्चिमी तटमा मंगलवार बिहान संदिग्ध लडाकुविरुद्ध इजरायली सेनाको कारबाहीमा तीन प्यालेस्टाइनी मारिएको सीएनएनले उल्लेख गरेको छ ।
मृतकमध्येका एक जना पश्चिमी तटको उत्तरका क्षेत्रीय लडाकू कमाण्डर इब्राहिम अल-नाबुलसी हुन् । इजरायली सेनाले उनीलक्षित नै कारबाही गरेको थियो । मारिएका अन्य व्यक्तिहरुमा इस्लाम सब्बोह र हुसेन जमाल ताहा रहेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
साना सशस्त्र समूहहरुको संगठन पपुलर रेसिस्टेन्स कमिटी (पीआरसी)ले एक विज्ञप्तिमार्फत प्रतिरोधको वीर कार्यमा तीन पुरुष शहीद भएको जनाएको छ ।
पुरानो सहर नाब्लसको एउटा भवनमा मिसाइल प्रहार गर्नुअघि इजरायली सेनाले मंगलवार बिहान उक्त भवनलाई घेरा हालेको इजरायली विज्ञप्तिमा भनिएको छ । सो क्रममा दोहोरो गोलीबारी भएको थियो ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार तीन जनाको मृत्यु हुनकासाथै कारबाहीमा परी ४० जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।