Logo
Logo

यस्ता छन् प्रहरी महानिरीक्षक सिंहका एक सय दिनका सफलता


2.3k
Shares


काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् । आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासा निरूपण गर्दै प्रहरी महानिरीक्षक सिंहले सो कुरा बताएका छन् ।


प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको बताउँदै सांगठनिक सुधारको लागि ८ वटा लक्ष्य सहित कार्ययोजना २०७९ लागू समेत गरिएको जानकारी दिए । मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उनको भनाई छ ।


उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताए । कानून भन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकता भन्दा बाहिर गएमा कारवाही गरिने उनको चेतावनी छ।


कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण, भयरहित एवम् विश्वसनीय वातावरणमा सम्पन्न भएको चर्चा गरे । साथै उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि प्रारम्भिक चरणका कार्यहरू समेत थालनी भइसकेको बताए ।


कार्यक्रमको शुरूमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले गत आर्थिक वर्ष २०७७÷०७८ र चालु आर्थिक वर्ष २०७८÷०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क, नेपाल प्रहरी कार्ययोजना २०७९ एवम् प्रहरी महानिरीक्षकको १०० कार्य दिनमा गरिएका नीतिगत कार्य तथा सुधारका कार्यक्रम, अपराध अनुसन्धान, प्रविधिको प्रयोग, प्रहरी कार्य, विपद् उद्दार, समन्वय र सहयोग, मानवस्रोत विकास, प्रहरी प्रशासन, भौतिक पूर्वाधार, नेपाल प्रहरी अस्पताल तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको सहभागिता सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्