Logo
Logo

माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ : प्रचण्ड


882
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उनले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताए ।

‘सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका व्यक्ति/समूहलाई सँगै लिएर जानुछ, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई अगाडि बढाउनुछ’, उनले भने, ‘वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’

देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी तथा नेतृत्वप्रतिको भरोसा र विश्वास टुटेको आफूले नपाएको उल्लेख गर्दै उनले पार्टीले विगतमा खेलेको भूमिकाका बारेमा जनतामा अगाध आस्था र विश्वास रहेको बताए ।

‘कहीँ समस्या छ भने त्यो नेतामा छ, नेताको एउटा पङ्क्तिमा व्यवहार र विचार तथा नीति र नेतृत्वप्रतिको विश्वास धर्मराएको छ । नेताहरु एकढिक्का भएर जाने हो भने मुलुकमा फेरि पनि माओवादीले नेतृत्व गर्ने अवस्था आउँछ,’ प्रचण्डले भने ।

पछिल्ला दिनमा माओवादीप्रति जनतामा आकर्षण बढ्दै गएको उल्लेख गर्दै उहाँले विचार र व्यवहारमा एकरुपता हुन नसक्दा एवं पार्टीभित्रको गुटबन्दी अन्त्य नहुँदा निर्वाचनमा कमजोर नतिजा देखिएको स्वीकार गरे ।

‘स्थानीय निर्वाचनमा हाम्रो जनमत खस्केको होइन, जनतामा आकर्षण घटेर माओवादीको सिट गुमेको भए हामीले कमजोरी ग¥यौँ, जनताले साथ दिएनन् भन्न हुन्थ्यो’, अध्यक्ष दाहालले भने, ‘जनताको साथ समर्थन रह्यो । तर पार्टीभित्रै अन्तरविरोधका कारण यसअघि जितेका स्थानीय तह गुमायौँ ।’

प्रतिक्रिया दिनुहोस्