Logo
Logo

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान


630
Shares

महेन्द्रनगर । कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ । कोरोना महामारी फैलिनुअघि पाहुनाहरुको चहलपहल रहने पाहुना घरहरु कोरोनापछिका वर्षहरुमा भने सुनसान हुन थालेका छन् ।

पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ ।

‘गत वर्ष असार मसान्तसम्म रु तीन लाख जतिको कारोबार भयो’, सचिव रानाले भने, ‘कोरोना सकिएपछि पनि समूहमा पाहुना आएर बास बस्ने क्रम घटेको छ ।’ कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायको पहिलो होमस्टे आफूहरुले सञ्चालनमा ल्याएको उल्लेख गर्दै सचिव रानाले पाहुना नआएका बेला स्थानीय खेतीपाती र व्यावसायिक तरकारी खेती गरिरहेको बताए ।

‘कोरोनाअघि सात महिनामै रु आठ लाखसम्मको कारोबार हुने गरेको थियो’, उनले भने, ‘अहिले त वैशाखयता पाहुना छिटपुटरूपमा मात्रै आएका छन् ।’ यहाँको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमै रहेको राना थारु होमस्टे जिल्लाका अरु होमस्टे भन्दा बढी चहलपहल हुने होमस्टे हो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणीमा विजयसाल होमस्टे, शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा खैरकन्द्रा होमस्टे र सिमलफाँटामा कृष्णसार होमस्टे रहेका छन् ।

आठ वटा पाहुना घर रहेको राना थारु होमस्टेमा आउने पाहुनाको स्वागतका लागि राना थारु पम्परागत नृत्य देखाइनुका साथै स्थानीय परिकार खुवाउने गरिएको छ । ‘होटल बसाइभन्दा सस्तो पनि पर्ने भएकाले यहाँ भ्रमणका लागि समूहमा आउने पाहुनाको रोजाइ होमस्टे पर्छ’, रानाले भने, ‘मुलुकभरका होमस्टेले सहकार्य गरेर पाहुना राख्ने खालको वातावरण बनाउन आवश्यक छ ।’

तराई भू–परिधि कार्यक्रम (ताल) को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिको आवश्यक सहयोगमा होमस्टे सुरुआत गरिएको थियो । होमस्टे सञ्चालनसँगै थारु समुदायको कला, रीति, संस्कृति जगेर्ना पनि सँगसँगै भइरहेको रानाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्