श्रावण १६ गते ओली सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रगति विवरण सार्वजनिक गरेको छ । २२ लाख ६२ हजार दिनको रोजगारी दिइएको र १ लाख ७६ हजार जनाले औषतमा १३ दिन काम पाएको विवरण सरकारले दिएको छ । सरकारले १ हजार रुपैयाँ खर्च गरेर १ लाख पैसा खर्च गरेको भनि प्रचार गरे जस्तै भएको छ । १ हजार रुपैयाँ भनेको १ लाख पैसा नै हो । तर धेरै देखाउन १ लाख पैसा खर्च गरेको भनेर जनता झुक्याउन खोजिए जस्तै गरी अहिले सरकारले धेरै अंकको तथ्याक प्रचारमा ल्याएको छ ।
तर वास्तविकता यो हो कि सरकारले केवल औषतमा एक जनालाई १३ दिनको मात्रै रोजगारी दिएर धेरै ठुलो काम गरेको हल्ला गर्न खोजेको छ । रोजगारी भनेको वेरोजगारलाई वर्ष दिनमा १३ दिनको काम दिनु होइन । नहुनु भन्दा १३ दिन भएपनि रोजगारी पाइयो भन्न सकिएला । तर यो तरिकाले रोजगारी समस्या समाधान हुने होइन । यो त मर्न लागेको मान्छेलाई एक चम्चा पानी खुवाए जस्तै हो ।
वास्तवमा सरकारले एक वर्षमा यस योजना अन्तरगत केवल ६१९८ जनालाई मात्र वर्ष दिनको रोजगारी दिएको देखिन्छ । सरकारी तथ्यांकमा पूर्ण वेरोजगार १७ लाख छ । एक अर्को अध्ययन अनुसार अर्धवेरोजगार र छद्म वेरोजगारहरु ५० लाख भन्दा वढी छन् । यस ठुलो संख्याको तुलनामा सरकारले दिएको रोजगारी हात्तीको मुखमा जिरा मात्र हो ।
सरकारले यस योजनाको लागि २५० करोड खर्च गरेको छ । अर्को गम्भीर विषय भनेको सरकारले जे जस्ता कामहरुमा यो रकम खर्च गरेको छ, ती कामहरु पहिला जनताको श्रमदानवाट हुने गरेका कामहरु थिए । साथै वाहियात लाग्ने कामहरुमा समेत यस रकम खर्च गरेर रोजगारी दिएको ढोंगी समाचारहरु प्रशस्त आए ।
सरकारले रोजगारी दिने भनेको उत्पादनशील क्षेत्रमा सरकारले लगानी गरेर त्यस्ता उद्योग व्यवसाय खोलेर रोजगारी दिनु पर्दथ्यो । तब मात्र समाजवाद उन्मुख अर्थतन्त्र तिर जाने हुन्थ्यो । त्यस तर्फ सरकारले ध्यान नदिएकोले रोजगारी समस्या आगामी दिनहरुमा अझ गम्भीर हुने देखिन्छ ।
जसले वर्ष दिनमा १३ दिन सरकारी कार्यालयका चौरमा घाँस उखेल्ने र सेल्फी खिच्ने काम पाए, उनीहरुपनि सरकार संग पूर्ण सन्तुष्ट हुने स्थिति रहँदैन ।
२५० करोड यसरी कनिका झै छरेर सरकार वदनाम हुनु भन्दा वरु १ लाखका दरले सानो व्यवसाय गर्न विना व्याज ऋण दिएको भए २५ हजार युवाहरुले केही व्यवसाय शुरु गर्न पाउने थिए । अथवा ५० लाख लगानीका मध्यम व्यवसाय ५०० वटा चलाएको भए प्रति व्यवसार १० जनाका दरले ५ हजार जनाले दीगो रोजगारी(एक वर्षको लागि मात्र नभएर सधैकालागि रोजगारी) पाउने थिए ।
रवीन्द्र श्रेष्ठ